नोटिफाई नेपालLoading...



आगामी वैशाख २ गतेदेखि देशैभर आर्थिक गणना सुरु हुने भएको छ। आर्थिक गणनाअन्तर्गत कालीकोट जिल्लामा १८ जना गणक र तीन जना सुपरिवेक्षक खटिने व्यवस्था मिलाइएको हो।
आइतबार कालीकोट जिल्लामा आयोजित ‘अर्थतन्त्रको मापनका लागि आर्थिक गणना’ सम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत जिल्ला आर्थिक गणना कार्यालय कालीकोटले उक्त जानकारी गराएको हो।
जिल्ला आर्थिक गणना अधिकारी वसन्त रजौरेले देशभरकै कार्यक्रमअनुसार कालीकोटमा पनि वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन गरिने बताए।
उनका अनुसार जिल्लाभर सञ्चालनमा रहेका उद्योग, व्यापारिक प्रतिष्ठान, सामान्य पान पसल, चियापसल, होटलदेखि लिएर साना–ठूला सबै प्रकारका आर्थिक क्रियाकलापको गणना गरिनेछ।
‘जिल्लामा जहाँ जहाँ आर्थिक गतिविधि सञ्चालन भइरहेका छन्, ती सबै क्षेत्र यस गणनामा समेटिनेछन्,’ उनले भने, ‘वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने सबै प्रकारका क्रियाकलापहरूको तथ्यांक संकलन गरिनेछ, जसले राज्यलाई नीति निर्माण तथा योजना तर्जुमामा महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।’
उनका अनुसार आर्थिक गणनाबाट कालीकोट जिल्लाका पालिका तथा वडास्तरमा रहेका प्रतिष्ठानहरूको सङ्ख्या, तिनको अवस्था, रोजगारीमा संलग्न जनशक्ति, वैधानिकता लगायतका महत्त्वपूर्ण सूचना प्राप्त हुनेछन्।
पालिकामा खटिने गणक तथा सुपरिवेक्षकका लागि चैत २६ देखि ३० गतेसम्म तालिम सञ्चालन गरिनेछ। वैशाख २ गतेदेखि उनीहरू फिल्डमा खटिने कार्यक्रम रहेको छ।
कार्यालयका अनुसार खाँडाचक्र नगरपालिकामा ४ जना, तिलागुफा र रास्कोट नगरपालिकामा दुई–दुई जना, शुभकालिका, नरहरिनाथ, पचालझरना र पलाँता गाउँपालिकामा दुई–दुई जना तथा महावै र सान्नीत्रिवेणी गाउँपालिकामा एक–एक जना गणक खटिनेछन्।








२३ चैत , २,०८२