नोटिफाई नेपालLoading...



जापानको आइची र नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागिता जनाउने खेल र खेलाडीको सङ्ख्या टुङ्गो लागेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २२ खेलका १३६ खेलाडी र ३२ प्रशिक्षक गरी कुल १६८ जनाको टोली सहभागी गराउने निर्णय गरेको छ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ (२०२६) सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट ८० पुरुष र ५६ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले २२ खेलको कोटा आधिकारिक रूपमा निर्धारण भइसकेको जानकारी दिए।
यसअघि २३ खेलमा करिब १४० खेलाडी सहभागी गराइने भनिए पनि अन्तिम समयमा छनोट चरण पार गरेको ‘इ-स्पोर्ट्स’ भने प्रतियोगिताबाट बाहिरिएको छ।
कुन खेलमा कति खेलाडी?
नेपालले टिम खेलतर्फ कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा सहभागिता जनाउनेछ भने बाँकी १९ वटा व्यक्तिगत खेल रहेका छन्।
टिम खेलमध्ये कबड्डीका पुरुष र महिला दुवै टोली गरी सर्वाधिक २४ जना खेलाडी सहभागी हुनेछन्।
यस्तै पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी समावेश छन्। व्यक्तिगत खेलतर्फ उसुबाट सर्वाधिक ११ खेलाडी रहनेछन् भने डान्स स्पोर्टमा १ जना मात्रै खेलाडी छन्।
नेपालले आर्चरी (२), एथलेटिक्स (६), ब्याडमिन्टन (४), बक्सिङ (७), साइक्लिङ (२), गल्फ (४), जुडो (६), कराते (८), सफ्ट टेनिस (४), स्क्वास (२), पौडी (५), टेबलटेनिस (६), टेनिस (५) र कुस्ती (६) मा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ।
त्यसैगरी, क्यानोइ स्लालोम (२), स्केटबोर्ड (२) र तेक्वान्दो (२) मा भने पुरुष खेलाडीको मात्र सहभागिता रहनेछ।
यसअघि सन् २०२३ मा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी (१२६ पुरुष र १२७ महिला) सहभागी भएका थिए। उक्त संस्करणमा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत र महिला कबड्डी टोलीको कांस्य गरी दुई पदक जितेको थियो।
पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागी हुँदै आएको नेपालले हालसम्म ३ रजत र २३ कांस्यसहित कुल २६ पदक जिते पनि स्वर्ण पदक हात पार्न सकेको छैन।









२१ श्रावण , २,०८३