नोटिफाई नेपालLoading...



राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी सशक्त प्रगतिवादी स्रष्टा प्राडा सावित्री श्रेष्ठका एक दर्जन कविता वाचन तथा परिचर्चा भएकाे छ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालकाे अध्यक्षता तथा लाेकप्रिय समालोचक, वरिष्ठ साहित्यकार प्राडा विदुर चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
सङ्घका महासचिव डा. कृष्ण सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा विशेष अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालकी उपाध्यक्ष नमुना शर्मा र सङ्घका निवर्तमान अध्यक्ष राम विनयको उपस्थिति रहेको थियो। त्यस्तै अन्य अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. फणीन्द्रराज निरौला, चिनियाँ लेखक यो यु, खोलाघरे साइँला, खेमराज निरौला, चेवन बस्नेत, कविनायकका इष्टमित्र तथा कवि, साहित्यकार एवम् साहित्यानुरागीहरूकाे उपस्थित थियाे।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पणकाे साथ स्वागत गर्दै भनिन्, ‘हरेक महिनाको दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु रहेकाे छ।
२०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा. मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ औँ विशेष शृङ्खला भएकाे छ।
समसामयिक विशेष विषयमा बहस तथा छलफल गर्ने, सडक कविता अभियान चलाउने यो अभियानमा महिला सहभागिता कमजोर भएको टिप्पणीका सन्दर्भमा भने हामी महिला नै निस्किन नखोजेर हो भन्ने मलाई लाग्छ। आज नेपाली प्रगतिवादी कविता अभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी, सिङ्गो जीवन प्राध्यापनकर्ममा समर्पित गरेकी, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेकी, परिवार, समाज, आफन्त, इष्टमित्र, समाज समेतले असहयोग गर्दा पनि सामाजिक रूपान्तरण अभियानमा होमिएकी अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा प्राडा सावित्री श्रेष्ठलाई प्रस्तुत गरिएको छ।’
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा भएकाे कार्यक्रममा साहित्यकार राजन न्यौपानेले कविनायक प्राडा सावित्री श्रेष्ठको परिचय दिँदै भने, ‘नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी, प्राध्यापनकर्ममा रहेकी, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता डा. श्रेष्ठको काठमाडौँको ज्याबहालमा माता मिलनदेवी श्रेष्ठ र पिता मुक्तिनाथ श्रेष्ठकी सपुत्रीका रूपमा जन्म भएको हो। उनको परिवार नेपालगन्जमा रहेर एकतारे होटल सञ्चालनदेखि त्यही समयमा टाइपिङ इन्स्टिच्युट चलाएर बसेको सभ्रान्त थियो।
प्रा. सिद्देश्वरमान श्रेष्ठको शिक्षित र आत्मनिर्भर परिवारमा वैवाहिक जीवन चलेको भए पनि सुरुका दिनमा आफ्नै कमाइले थोरै पैसा जम्मा गरेर तीन कक्षामा एकैपटक भर्ना भएर परिवारको इच्छाविपरीत शिक्षार्जन डा.श्रेष्ठले गरेकी हुन्।
पढाइमा जहिल्यै प्रथम हुने र घरायसी व्यवहारमा पनि लागेकी डा. श्रेष्ठ स्वआर्जनबाट छोरीलाई अंश दिने सम्भवतः नेपालकै पहिलो महिला पनि हुन्। नेपाल बैङ्क लिको सञ्चालक समितिको पहिलो महिला सदस्यका रूपमा रहेर, नेपालमा रहेका प्रायः सबै विश्वविद्यालयमा कुनै न कुनै रूपमा प्राध्यापन गरेर मात्र होइन सन २०१५ मा पोडे महिला विषयमा विद्यावारिधिसमेत गरेकी डा. श्रेष्ठले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेकी हुन्।
उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारहरूमा कार्यपत्र प्रस्तुत गरेकी छन् भने वर्तमानमा पनि कोटेश्वर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यसमेत रहेकी छन्। ‘अक्षलोक’ साहित्यिक पत्रिकाको सम्पादन पनि गरिरहेकी डा. श्रेष्ठका ३ कथासङ्ग्रह, २ उपन्यास, ५ कवितासङ्ग्रह लगायत डेढ दर्जन जति कृति प्रकाशित छन्।’
कविनायक श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि सञ्चालन भइरहेको यो गरिमामय, उद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०८ औँ शृङ्खलामा आफू जोडिन आइपुगेकोमा गर्वबोध गरिन्, ‘लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि कविता सिर्जनापछि परिष्कार नगर्ने मेरो बानीका कारण कमजोरी पनि होलान् तर छोरा मात्र सन्तान हुन् भन्ने समाज र मेरा आफ्नै पनि अभिभावकको बानी देखेर, छोरीलाई पढाउनु हुन्न भन्ने सोच त भएकी तर सम्पत्तिको हकचाहिँ छोरीलाई पनि दिनुपर्छ भन्ने मान्यता कार्यान्वयन गर्न नसकेकी मेरी आफ्नी आमाको पीडा अनुभूत गरेर, जुनसुकै क्षेत्रमा पनि आलोचना गरेपछि तिरस्कृत हुनुपर्दा पीडाबोध भएपछि, विद्वता र क्षमता भएकाहरू तर मान्छे बन्न्नसकेको देखेपछि वा व्यहोरेपछि, आफ्नो जन्मघर आफ्नो त हुन नसकेको तर प्यारो लागेपछि मनका भावना अभिव्यक्त गर्नका लागि, नेपाली छोरीले अधिकार पाउनु त कता कता आमाको गर्भमै मर्नुपर्ने सामाजिक विद्रुपता देखेपछि र धेरै कुराले मनमा अन्तर्द्वन्द्व पैदा गराएपछि मैले कविता सिर्जना गरेकी हुँ भन्दै कविताका रचनागर्भका बारेमा जानकारी गराउँछु।’
उनले ‘मेरी आमाका पीडाहरू’, ‘बाघको मुखमा छु हजुर’, ‘त्यो घरको याद’, ‘हो, मलाई मध्यरातमा डर लाग्छ’ र अन्तर्द्वन्द्व शीर्षकका गद्यकविता वाचन गरेकी थिइन्।
त्यसैगरी सहयोगी कवि कविराज योगराज राजनले ‘यथार्थको आँसु’ शीर्षकको, कवि गीता अर्यालले ‘भानुभक्त’ र ‘बगर हो कि मान्छे!’ शीर्षकका, कवि स्वर्णिमा श्रेष्ठले ‘लज्जा’ र ‘आँसुका पहाडहरू’ शीर्षकका, कवि राजन न्यौपानेले ‘किन चाहियो राजा ?’ शीर्षकको र कवि शान्ति पौडेलले ‘बिर्सिदिँदा के फरक पर्ला र ?’ शीर्षकको कविता वाचन गरेका थिए।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै प्रमुख अतिथि एवम् समालोचक प्राडा विदुर चालिसेले कविका कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ र यो समारोह महत्त्वपूर्ण रहेको बताए।
उनले भने, ‘वास्तवमा लेखन जस्तो सहज हुँदैन समीक्षा। लेखकले आफ्ना अन्तरमनका भावना अभिव्यक्त गर्दछ तर समीक्षकले सैद्धान्तिक कसीमा घोटेर समीक्षा गर्नुपर्दछ। गद्यकविता भाषावैज्ञानिक प्रविधिमा जोडिन्छ र त्यसमा लयचेतना हुन्छ। मुक्तकमा भने पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ। यहाँ एउटा मुक्तक प्रकारको कविता वाचन भएको छ र यो कवितामा यथार्थ जीवनको पीडा अभिव्यक्त भएको छ।
शैलीवैज्ञानिक मान्यताका आधारमा हेर्दा कविता सरल छन् तर बौद्धिकताभित्रको भावगाम्भीर्य कमजोर पाइन्छ। कवितामा विषयको नाटकीकरण गर्न नसक्दा गद्यको लय स्थापित हुँदैन। वाक्यको संरचना टुक्र्याउने र वक्रोक्ति अर्थ दिने काम गरियो भने कविता सुन्दर हुन्छ र अर्थविस्तार गर्ने शब्दको प्रयोगले बौद्धिकताको सिर्जना गर्छ। कविताको मूल मर्म लय हो र वाचनशैली नै कविको पहिचान हो। देशको परिस्थिति, आततायीपन, सामाजिक यथार्थ, विभेद, शोषणजस्ता कुरा कवितामा सशक्त रूपमा आएका छन् र रूपान्तरणको ध्वन्यार्थ सम्प्रेषण पनि गरिएको छ।
साधनाको पक्ष केही कमजोर देखिएकोतर्फ कविको ध्यान जानुचाहिँ आवश्यक छ। गद्यकविताले प्रगतिशील चेतनाको विस्तार गर्ने काम गरेको छ। कविको शैली र अस्त्रको काम पनि गद्यकविताले नै गर्दछ। गद्यकवितामा विम्बको गहन छनोट आवश्यक हुन्छ।
त्यसैगरी अर्थसन्दर्भको सापेक्षता, प्रतीकात्मकता, दर्शन, विचार, भाषाको संयोजन कवितामा आवश्यक हुन्छ। स्रष्टाले आफ्नो पहिचान आफैँ बनाउनुपर्दछ। कविले आलोचना र प्रशंसा स्वीकारी साधना गर्नु आवश्यक छ। सुन्दर र समसामयिक कविता सुनिएको आजको यो विशेष समारोह समग्रमा सार्थक भएको छ।’
उपाध्यक्ष रमेश पोखरेलले कवितामा सामाजिक यथार्थ जीवन्त रूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता सिर्जना गरेकाे बताए।







१३ बैशाख , २,०८३