नोटिफाई नेपालLoading...



विराटनगर महानगरपालिका–८ मधुमाराका अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीलाई शनिबार विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
डिएसपी मिश्रले भने, ‘गिरीका विरुद्ध विभिन्न सूचना आएको हुँदा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौं। उनलाई उनकै घरबाट आज बिहान पक्राउ गरेको हो। अहिले यहीँ कसुर हो भन्न सक्दैनौं किनभने धेरै विषयमा अनुसन्धान गर्नुपर्ने छ। भर्खरै पक्राउ गरेर ल्याएको र थप अनुसन्धान बाँकी रहेको हुँदा अनुसन्धानपछि सबै कुरा प्रस्ट हुनेछ।’
विराटनगरका विवादास्पद छविका अभिषेक गिरी गुण्डा नाइकेका रुपमा परिचित छन्। उनी विगत २ वर्षदेखि नेपाली कांग्रेससँग आबद्ध हुँदै राजनीति गर्न थालेका हुन्। शरीर बन्धक तथा अपहरण मुद्दामा कबिर ८ वर्ष कारागारमा सजाय भुक्तान गरेर बाहिरिएपछि राजनीति गर्न थालेका हुन्। शनिबार बिहान गिरीलाई उनकै घरमा छापा मारेर प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो। अवैध हतियार लुकाएर घरमा राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको स्रोत बताएको छ।
शरीर बन्धक तथा अपहरण मुद्दामा मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए। कैद भुक्तान गरी छुटे पनि उनीमाथि मोरङ कारागारको आन्तरिक व्यवस्थापनमा सक्रिय भएको आरोप लाग्दै आएको थियो। कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा गिरीलाई पक्राउ परेका हुन्।
कारागारका कैदीबन्दीलाई प्राप्त हुने पैसा उनले लागेको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेका थिए। कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैंचा बुन्ने काम गर्छन्। ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने सरकारले दिने भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो।’
पक्राउ परेका अभिषेक गिरीले भने, ‘राजनैतिक परिर्वत भएपछि आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजियो। सुरुमा हातहतियार छ भनेर प्रहरीले घर खानतलासी गर्याे, केही नभेटिएपछि अहिले अरु नै बहानामा नियन्त्रणमा लिएको हो। मलाई दुःख दिने र प्रतिशोध साँध्ने नियतले मात्रै पक्राउ गरेको हो । केही पनि बरामद भएन मलाई बदनाम गराउन खोजे र मेरो अलिअलि पैसा, मैले लगाएको सुन प्रहरीले लगेको छ।’
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन्।








१२ असार , २,०८३