नोटिफाई नेपालLoading...



दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीनवटै नयाँ नेपाली चलचित्र बक्स अफिसमा कमजोर साबित भएका छन्।
संयोग नै मान्नुपर्छ, दसैंको बिदा लक्षित गरी हलमा भित्रिएका ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ तीनवटै सिक्वेल चलचित्र हुन्। तर, यी तीनै चलचित्रले आ-आफ्ना अघिल्ला शृङ्खलाको तुलनामा आधा व्यापारसमेत गर्न सकेका छैनन्।
नेपाली चलचित्र क्षेत्रका लागि दसैंलाई सधैँ ‘प्राइम टाइम’ मानिने गरिन्छ। चाडपर्वको माहोलमा दर्शक हलसम्म तानिने अपेक्षाका साथ निर्माताहरू दसैंको मिति ताक्छन्। तर, यो वर्ष एक दिनको फरकमा प्रदर्शनमा आएका तीनवटै सिक्वेल चलचित्रले यो ‘प्राइम टाइम’ लाई न्याय दिन सकेनन्।
दसैंका मुख्य तीन चलचित्र सुस्ताइरहँदा त्यसको ठीक विपरीत दसैं अगाडि र टीकाको भोलिपल्ट प्रदर्शनमा आएका चलचित्रले भने बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।
ती दुवै चलचित्र अभिनेता दयाहाङ राईका हुन्। उनका चलचित्र ‘पेन्सन पट्टा’ र ‘कबड्डीः ५ आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा १० करोड रुपैयाँमाथिको कलेक्सन गरिसकेका छन्।
अब कुरा गरौं दसैंको माहोल छोपेर प्रदर्शनमा आएका तीन सिक्वेल नेपाली चलचित्रको। असोज ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ बक्स अफिसमा सुस्त देखिएको छ। चन्द्र पन्तको निर्देशनमा गत वर्ष प्रदर्शनमा आएको यसको अघिल्लो भागले १३ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेर दर्शकको मन जितेको थियो।
तर, अघिल्लो शृङ्खलाको सफलताले सिर्जना गरेको अपेक्षाविपरीत यसको सिक्वेलले प्रदर्शनको यतिका दिन बितिसक्दा पनि सात करोड रुपैयाँको आँकडा छुन सङ्घर्ष गरिरहेको छ। बक्स अफिसको पछिल्लो विवरणअनुसार आइतबारसम्म यो चलचित्रले छ करोड ८२ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ।
हालसम्म दुई लाख ४१ हजार ८६ जना दर्शकले हेरेको यो चलचित्रको व्यापार पछिल्लो साता लगभग रोकिएजस्तै देखिएको छ। आइतबारसम्मको कुल कमाइ गत साताको तुलनामा जम्मा ६० हजार रुपैयाँ मात्र बढी छ। हलमा दर्शकको चाप निकै घटिसकेको छ।
असोज ३० गते नै प्रदर्शनमा आएको अर्को सिक्वेल ‘१२ गाउँ २’ को अवस्था झन् निराशाजनक देखिएको छ। बिराज भट्टको निर्देशनमा तयार भएको यस चलचित्रमा बिराज र समीर भट्टको मुख्य भूमिका छ भने अनुपविक्रम शाही खलपात्रको भूमिकामा देखिएका छन्।
यसको पहिलो शृङ्खलाले घरेलु बक्स अफिसमा करिब २५ करोड रुपैयाँको व्यापार गरेको थियो। तर, दोस्रो शृङ्खलाले भने त्यो सफलता दोहोर्याउन नसक्दा निर्मातालाई निराश तुल्याएको छ। प्रदर्शनको लामो समय बितिसक्दा पनि चलचित्र तीन करोड रुपैयाँको कमाइका लागि सङ्घर्ष गरिरहेको छ।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार आइतबारसम्म ‘१२ गाउँ २’ ले दुई करोड ३२ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ। हालसम्म यो चलचित्र ७६ हजार ६० जना दर्शकले मात्र हेरेका छन्। जुन अघिल्लो शृङ्खलाको तुलनामा निकै कमजोर नतिजा हो।
असोज ३१ गते प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै २’ ले पनि बक्स अफिसमा दर्शकको बलियो साथ पाउन सकेन। हास्यव्यङ्ग्य विधामा आधारित र दीपकराज गिरी अभिनीत यो शृङ्खला राजनीतिक विकृतिमाथिको व्यङ्ग्यमा केन्द्रित छ। यसको अघिल्लो भागले बक्स अफिसमा नौ करोड रुपैयाँमाथिको कलेक्सन गरेको थियो।
तर, परिचित ब्रान्ड र कलाकार हुँदाहुँदै पनि दोस्रो भाग भने बक्स अफिसमा कमजोर देखियो। बक्स अफिस विवरणअनुसार ‘छ माया छपक्कै २’ ले आइतबारसम्म तीन करोड ४३ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ। अहिलेसम्म यो चलचित्र एक लाख छ हजार ८८३ जना दर्शकले हेरेका छन्।
दसैंजस्तो व्यावसायिक अवसरमा प्रदर्शनमा आएका यी तीनवटै सिक्वेल चलचित्र बक्स अफिसमा कमजोर हुनुका पछाडि आ-आफ्नै कारण भए पनि समग्रमा केही साझा कमजोरी प्रस्टै देखिन्छन्। निर्माण र प्रदर्शनताका प्रचारप्रसारमा जति जोड दिइयो, कथावस्तुमा भने त्यति मिहिनेत पुगेन।
मूलतः दर्शकलाई हलमा बाँधेर राख्न सक्ने रोचक कथाको अभाव नै यी चलचित्र कमजोर हुनुको मुख्य कारण बनेको छ। बेस्वादिलो कथा पस्किनु, चलचित्रको गति सुस्त हुनु र पात्रहरूबिचका संवाद चोटिलो नहुनुले हलमा पुगेका दर्शकलाई पनि उत्साहित बनाउन सकेन।
त्यसैगरी, चलचित्र हेर्दै गर्दा अब के हुन्छ भन्ने कुरा दर्शकले सहजै पूर्वानुमान लगाउन सक्ने भएकाले कथामा नवीनता र कौतूहलता बाँकी रहेन। अझ, स्वाभाविक प्रस्तुतिभन्दा बाहिर गएर आवश्यकताभन्दा बढी दर्शकलाई सिनेमा हलमा रुवाउन खोज्ने प्रवृत्तिले पनि दर्शकलाई आकर्षित गर्न नसकेको देखिन्छ।
समग्रमा हेर्दा, अघिल्लो चलचित्रको लोकप्रियता र दसैंको ‘प्राइम टाइम’ को भरोसामा मात्र सिक्वेल ल्याउँदा दर्शकले नपत्याउन सक्छन्। तसर्थ, प्रचारप्रसारको हल्लाभन्दा माथि उठेर कथावस्तु, गति र संवादमा काम गर्न नसक्दा तीनवटै सिक्वेलको व्यापारिक नतिजा कमजोर बन्न पुगेको छ।








२९ कात्तिक , २,०८३