नोटिफाई नेपालLoading...



‘लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६’ सम्पन्न भएको छ।
जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसन तथा प्रयोग र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले असार ६ गतेदेखि सुरु साताव्यापी अभियानको शुक्रबार समापन गर्दै दिवस मनाइएको हो। दिवसको अवसर तथा अभियानको समापन गर्ने क्रममा सदरमुकाम गाईघाटमा विहान प्रभातफेरी गर्दै सचेतनामूलक र्याली प्रदर्शन र बजार परिक्रमा गरिएको छ।
लागुऔषध दुर्व्यसन, युवापुस्तालाई पार्दै आएको प्रभावले उत्पन्न चुनौतीको सामना गर्न तथा लागुऔषध न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले प्रशासन, प्रहरी, राजनीतिक दल, व्यापारी/व्यवसायी, विद्यार्थी, पत्रकार र युवा तथा किशोर किशोरीको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिएको हो। ‘लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, जिल्ला प्रहरी प्रमुख राजन चापागाई, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसँस्थाका प्रतिनिधि, युवा, विद्यार्थी र बजारवासी सर्वसाधारणको सहभागिता रहेको थियो।
लागुओषधविरुद्ध विभिन्न नारा लेखिएको प्लेकार्ड र व्यानर बोकेको प्रभातफेरी र्याली बजार परिक्रमा गर्दै गाईघाट लोकतान्त्रिक चोक पुगेर समापन भएको थियो। अभियान समापनमा प्रमुख जिल्ला अधिकारी मग्रातीले लागुऔषविधरुद्धको अभियानलाई तीव्र गतिमा निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए। विगतदेखि चल्दै आएको लागुऔषध नियन्त्रण तथा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउँदै समाजबाट सकेसम्म निर्मुल गर्नुपर्ने नसके देखिने गरी घटाउन सबै पक्षको उत्तिकै सहयोग र सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले लागुऔषधविरुद्ध जनचेतना फैलाउन प्रहरी प्रशासन र स्थानीय सरकारसँग सर्वसाधारण र सरोकारवाला सबैको प्रत्यक्ष संलग्नता हुनुपर्ने खाँचो औँल्याएका थिए। सप्ताहव्यापी अभियान कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको हो।







१२ असार , २,०८३