नोटिफाई नेपालLoading...



आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सानदार शतक प्रहार गरेपछि ओपनर कुशल भुर्तेलले मैदानमा उपस्थित हजारौं दर्शकहरूलाई हात जोडेर सम्मान प्रकट गरेका छन्।
लामो समयको खराब लयलाई चिर्दै शतकीय इनिङ्स खेलेका भुर्तेलले आफ्नो सफलताको खुसीयाली समर्थकहरूसँग साटेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भुर्तेलले व्यक्तिगत १०० रन पूरा गरेलगत्तै चारैतिर रहेका दर्शकहरूतर्फ फर्कँदै हात जोडेर ‘नमस्ते’ गरेका थिए।
उनको यो शालीन हाउभाउलाई मैदानमा उपस्थित समर्थकहरूले तालीको गडगडाहट र ‘कुशल–कुशल’ को नाराले स्वागत गरेका थिए।
शनिबारको खेलमा भुर्तेलको अविजित १२० रनको योगदानमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गर्यो। ११८ बलको सामना गरेका भुर्तेलले १३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई सहज जित दिलाएका हुन्।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालका लागि अर्का प्रारम्भिक ब्याटर आसिफ शेखले ५८ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ्स खेले। उनले भुर्तेलसँग पहिलो विकेटका लागि १४५ रनको कीर्तिमानी साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
आसिफ आउट भएपछि मैदान छिरेका इशान पाण्डेले ३० बलमा अविजित २० रन जोडेर भुर्तेललाई अन्तिमसम्म साथ दिए।
यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको अमेरिका ४३.३ ओभरमा १९५ रनमै समेटिएको थियो। अमेरिकालाई मध्यम स्कोरमा रोक्न नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए।
सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट हात पारेका थिए।
अमेरिकाका लागि ओपनर स्मीट पटेलले ८३ रन र सेहान जयसूर्याले ५० रन जोडे पनि अन्य ब्याटरहरू चल्न सकेनन्।
शनिबारको दिन भएकाले मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








१ जेठ , २,०८३