नोटिफाई नेपालLoading...



धनगढीमा १० वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा बालकको हत्या भएको आशंका गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी बुधबार साँझदेखि सम्पर्कविहीन भएका थिए। परिवार र स्थानीयले खोजी गरिरहेकै अवस्थामा शुक्रबार उनलाई नजिकैको जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण शव केही क्षतविक्षद अवस्थामा फेला परेको थियो। घटनास्थलको अवस्था हेर्दा बालक बेपत्ता भएकै दिन घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाको प्रकृति र परिस्थितिका आधारमा अनुसन्धान तीव्र बनाइएको जानकारी दिएका छन्। घटनास्थल आसपास केही प्रमाण फेला परेकाले त्यसको समेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
बालकले प्रयोग गर्दै आएको साइकल पनि घटनास्थल नजिकै भेटिएको छ। हाल घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतक तनुज चौधरी धनगढीस्थित उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए।







१२ असार , २,०८३