नोटिफाई नेपालLoading...



पोखराका व्यावसायीले कारवाहीको त्रास फैलाएर नभई व्यावसायीलाई सहजता दिलाएर राजस्व संकलनको प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन्।
व्यावसायिक नीतिनियमहरु कार्यान्वयनमा लैजाँदा आवश्यक तयारी गर्न तथा उद्योगी व्यवसायीलाई मौका दिनुपर्ने माग पनि उनीहरुले गरेका छन्।
सरकारले बिक्रीयोग्य सेवा तथा बस्तुको मूल्यसूची प्रष्ट राख्न निर्देशन जारी गरेको सन्दर्भमा उनीहरुले न्यून विजकीकरणका कारण त्यो काम तत्कालको लागि झन्झटिलो भएको पनि जिकिर गरे।
सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शीता सप्ताह’ को छेकोमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सचेतना कार्यक्रममा व्यावसायीले न्यून बिजकीकरणका कारण कतिपय काम अप्ठेरो भएको बताए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगीव्यवसायीहरु बिक्रेताभन्दा बढी उपभोक्ता भएकाले मूल्य पारदर्शीता आफ्नो पनि सरोकारको विषय भएको बताए।
पोखरा उद्योग वाणिज्य संघ सदैव स्वच्छ व्यवसायको पक्षमा रहेको बताउँदै उनले मूल्यसूची राख्दा व्यावसायिक स्वच्छता कायम हुने र दण्ड–जरिवानाबाट जोगिने भएकाले सरकारको आह्वानलाई समर्थन गर्न व्यावसायीलाई आग्रह गरे।
केही ठूला निर्यातकर्ताले एउटा मूल्यमा सामान बेच्ने र विल चाँहि त्योभन्दा कम मूल्यको जारी गर्ने (न्यूनविजकीकरण) को समस्या पुरानै भएको बताउँदै उनले मूल्यसूची राख्ने नाममा व्यावसायीलाई दुःख नदिन प्रशासनसँग अनुरोध पनि गरे।
‘स्वच्छता हाम्रो चाहना हो, तर व्यावसायीमाथि त्यही निहुँमा धरपकड गरिन्छ भने पोखरा उद्योग वाणिज्य संघ चुप लाग्दैन,’ उनले भने, ‘व्यावसायीलाई दुख दिएर होइन, सहजता दिनुपर्छ।’
संघकी महासचिव शोभा गौतमले स्वच्छ व्यवसाय गर्दै राजस्वमा योगदान गर्न तथा सरकारलाई सघाउन व्यावसायीहरु तयार रहे पनि उनीहरुलाई सधैँ शंकाको नजरले हेर्ने प्रशासनको प्रवृत्तिमा सुधार आवश्यक रहेको बताइन्।
‘व्यावसायी राज्यलाई सघाउन तयार छन्। तर, प्रशासनले हरेक पटक व्यावसायीलाई दुख दिने नियत राख्नु हुँदैन।’
कार्यक्रममा व्यावसायीले मूल्यसूची र अधिकतम् मूल्य राखेर सामान उत्पादन गर्न आफुलाई कुनै समस्या नभएको तर केही खुद्रा बस्तुहरुमा मूल्यसूची टाँस्न समस्या हुने पनि बताएका थिए।
संघकी महासचिव गौतमका अनुसार जेठ ३ गतेसम्म चल्ने मूल्य पारदर्शीता सप्ताहअन्तर्गत व्यवसायीहरुका सुझाव र राय बुझने क्रममा यो कार्यक्रम आयोजना गरिएको हो। व्यवसायीका समस्याहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने पनि उनले बताइन्।








१ जेठ , २,०८३