नोटिफाई नेपालLoading...



प्रकृति प्राकृतिक प्रक्रिया र मानव गतिविधि दुवैबाट प्रभावित हुन्छ। यी गतिविधिहरूले पृथ्वीका स्रोतहरूको संरक्षण गर्न पनि सक्छन् र तिनको दोहन तथा विनाश पनि गर्न सक्छन्। मानव सभ्यताले विकासको क्रममा विज्ञान र प्रविधिमा यस्तो उन्नति हासिल गरेको छ, जुन केही दशकअघि कल्पनासमेत गर्न सकिँदैनथ्यो। पृथ्वीबाहिर जीवनको खोजी जारी रहँदा यही ग्रहमा बसोबास गर्ने मानिसको जीवनस्तर सुधार्ने र उनीहरूको भविष्य सुरक्षित गर्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ। विकासको गति तीव्र बन्दै जाँदा वातावरणीय विनाशको क्रम भने चिन्ताजनक रूपमा बढिरहेको छ।
जलवायु परिवर्तनले विश्वभरका मानिसलाई असर गरेको छ। लाखौं मानिसको जीवन धानिरहेका संवेदनशील क्षेत्रमा यसको प्रभाव अझ गम्भीर रूपमा देखिएको छ। यस्ता क्षेत्रहरू प्रायः मानिसहरूको जीविकोपार्जनका लागि आवश्यक प्राकृतिक स्रोतहरूको प्रमुख आधार हुने गर्छन्। त्यसैले यी नाजुक पारिस्थितिकीय प्रणालीहरूको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता बनेको छ। यसका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि गरी जलवायु परिवर्तनका मानव जीवनमा पर्ने प्रभावहरू, विशेषगरी सबैभन्दा जोखिममा रहेका समुदायहरूको अवस्थालाई उजागर गर्ने खालका समाचार र लेखहरू तयार पार्न प्रोत्साहित गर्नु प्रभावकारी उपाय हुन सक्छ।
नेपाल हिमाली क्षेत्रदेखि भारतसँग सीमा जोडिएका उर्वर तराईसम्म फैलिएको अद्वितीय जैविक विविधताले सम्पन्न देश हो। नेपाल हिन्दुकुश हिमालय क्षेत्रको हिस्सा हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसार हिन्दुकुश हिमालय क्षेत्र तीन हजार पाँच सय किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको छ र यसले अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल तथा पाकिस्तानका सम्पूर्ण वा केही भूभाग समेट्छ। यही क्षेत्रबाट अमु दर्या, सिन्धु, गंगा, ब्रह्मपुत्र, इरावदी, सालविन, मेकोङ, याङ्त्से, पहेँलो नदी र तारिमसहित एसियाका दश प्रमुख नदी प्रणालीहरूको उद्गम हुन्छ।
यी नदीले हिन्दुकुश हिमालय क्षेत्रमा बसोबास गर्ने करिब २४ करोड मानिसलाई पानी, पारिस्थितिकीय सेवा तथा जीविकोपार्जनका अवसर प्रदान गर्छन्। साथै, तिनका नदी प्रणालीहरूले करिब एक अर्ब ९० करोड मानिसलाई सहयोग पुर्याउँछन्, जुन विश्व जनसंख्याको झन्डै एक चौथाइ हो। यी नदीको पानीको ठुलो हिस्सा हिन्दुकुश हिमालय क्षेत्रमा सञ्चित हिउँ र हिमनदीहरूबाट प्राप्त हुन्छ। अब जलवायु परिवर्तनले हिमनदीहरूमा पारिरहेको प्रभाव र भविष्यमा स्वच्छ पानीको उपलब्धतामा पर्ने असरबारे गम्भीर प्रश्न उठाउने समय आएको छ।
युएन वुमेन, रिसर्चगेट र इसिमोडद्वारा प्रकाशित ‘स्टेट अफ जेन्डर इक्वालिटी एन्ड क्लाइमेट चेन्ज इन साउथ एसिया एन्ड द हिन्दुकुश हिमालय’ प्रतिवेदनका अनुसार विश्वभर हुने जलवायुसम्बन्धी विपद्मध्ये करिब ४० प्रतिशत दक्षिण एसिया र हिन्दुकुश हिमालय क्षेत्रमा हुने गर्छन्। प्रतिवेदनले महिला, आदिवासी समुदाय, गरिब परिवार तथा सीमान्तकृत समूहहरूले असमान रूपमा बढी प्रभाव भोग्नुपरेको उल्लेख गरेको छ, किनकि उनीहरूको स्रोत, सेवा तथा निर्णय प्रक्रियामा पहुँच समान छैन।
दक्षिण एसियाका अधिकांश क्षेत्रमा कृषि नै जीविकोपार्जनको प्रमुख आधार हो। यस क्षेत्रमा करिब ७० प्रतिशत महिलाहरू कृषिमा संलग्न छन् भने पुरुषहरूको सहभागिता ४७ प्रतिशत रहेको छ। भूमि, प्राकृतिक स्रोत तथा जलवायु अनुकूलनसम्बन्धी निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता र प्रभाव सीमित छ, जबकि वातावरणीय परिवर्तनबाट सिर्जित बोझको ठुलो हिस्सा उनीहरूले नै वहन गरिरहेका छन्।
एचकेएच क्षेत्रका धेरै स्थानमा पुरुषहरूको वैदेशिक वा आन्तरिक बसाइँसराइ लामो समयदेखि परिवारको जीवन धान्ने रणनीतिको रूपमा रहिआएको छ। पुरुषहरू व्यापार, रोजगारी वा आर्थिक अवसरको खोजीमा बाहिरिने गर्छन्। जैविक विविधताको क्षय र जलवायु परिवर्तनको तीव्रतासँगै समुदायहरूले सुक्दै गएका पानीका मुहान, घट्दो कृषि उत्पादन, खाद्य असुरक्षा तथा बढ्दो विपद् जोखिमको सामना गरिरहेका छन्।
हाल महिलाहरूको श्रम आप्रवासन पनि बढ्दो क्रममा भए तापनि हिन्दुकुश हिमालय धेरै क्षेत्रमा पुरुषहरू नै अधिकांश आप्रवासी श्रमिक छन्। यसले गर्दा महिला, बालबालिका र वृद्ध सदस्यहरूलाई खेतीपाती, घरपरिवार र सामुदायिक जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था सिर्जना भएको छ।
बदलिँदो यथार्थले महिलाहरूको कार्यभार र जिम्मेवारी बढाएको छ भने स्रोत र निर्णय प्रक्रियामा उनीहरूको पहुँच अझै सीमित बनाइरहेको छ।
विगत केही वर्षले हिन्दुकुश हिमालय क्षेत्र जलवायुजन्य विपद्प्रति कति संवेदनशील छ भन्ने स्पष्ट देखाएको छ। सन् २०२५ मा मात्र यस क्षेत्रका १२ लाखभन्दा बढी मानिस बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य बाढीबाट प्रभावित भएका थिए। यस्ता विपद्हरूले घरबार नष्ट गर्नुका साथै पूर्वाधारमा क्षति पुर्याउँछन्, कृषि उत्पादन घटाउँछन् र समुदायलाई पुनःस्थापनाको कठिन यात्रामा धकेल्छन्।
यस्ता विपद्पछिको अवस्थाले महिला र बालिकामाथि झन् बढी बोझ थप्ने गर्छ। हिन्दुकुश हिमालय क्षेत्रका धेरै स्थानहरूमा पानी, दाउरा र पशुचारा संकलन गर्ने मुख्य जिम्मेवारी महिलाहरूको नै हुन्छ। पानीका स्रोतहरू सुक्दै जाँदा र कृषि उत्पादन घट्दै जाँदा उनीहरूले दैनिक आवश्यकताहरू पूरा गर्न झन् बढी समय खर्च गर्नुपर्छ। यसले शिक्षा, रोजगारी तथा सामुदायिक निर्णय प्रक्रियामा सहभागिताका अवसरहरू घटाउँछ र विद्यमान असमानतालाई थप बलियो बनाउँछ।
वातावरणीय महत्त्वका अतिरिक्त हिन्दुकुश हिमालय क्षेत्र समृद्ध सांस्कृतिक सम्पदा र विविध आदिवासी ज्ञान प्रणालीहरूको घर पनि हो। जलवायु परिवर्तनले पारिस्थितिकीय प्रणाली र जीविकोपार्जनका स्वरूपहरू परिवर्तन गरिरहँदा नीति निर्माताहरूले पर्वतीय समुदायहरूलाई पुस्तौंदेखि अनुकूलन गर्न सहयोग पुर्याएका परम्परा, सांस्कृतिक अभ्यास र स्थानीय ज्ञानलाई अझ गहिराइमा बुझ्न आवश्यक छ।
जलवायु नीतिहरूले महिला, पुरुष तथा विभिन्न सामाजिक समूहहरूले जलवायु परिवर्तनको प्रभाव फरक–फरक रूपमा भोग्ने यथार्थलाई स्वीकार गरी त्यसअनुसार अनुकूलन रणनीतिहरू विकास गर्नुपर्छ। यी बहुआयामिक संवेदनशीलताको बुझाइ बिना दिगो र उत्थानशील समुदाय निर्माण सम्भव छैन।
प्रभावकारी नीति निर्माणमा अवरोध बनिरहेको एउटा प्रमुख कमजोरी भनेको हिन्दुकुश हिमालय क्षेत्रमा लैंगिक आधारमा वर्गीकृत तथ्यांकको अभाव हो। यस्ता तथ्यांकले सरकार, अनुसन्धानकर्ता तथा विकास साझेदारहरूलाई महिला, पुरुष र सीमान्तकृत समुदायहरूको फरक–फरक आवश्यकता बुझ्न सहयोग पुर्याउनेछन्।
त्यति नै महत्त्वपूर्ण कुरा आदिवासी ज्ञान र स्थानीय समुदायहरूले सफलतापूर्वक अपनाएका अनुकूलन अभ्यासहरूको अभिलेखीकरण गर्नु पनि हो। यस्ता अनुभवहरूले भविष्यका नीति तथा कार्यक्रमहरूलाई मार्गदर्शन गर्नुपर्छ।
महिला तथा सीमान्तकृत समुदायका सदस्यहरू नीति निर्माण गर्ने निकायहरूमा अझै पनि पर्याप्त रूपमा प्रतिनिधित्व हुन सकेका छैनन्। त्यसैले उनीहरूको आवाज सुनिने सुनिश्चित गर्न विशेष प्रयास आवश्यक छ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा प्रत्येक पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला निर्वाचित हुनुपर्ने प्रावधान छ। त्यसैगरी, प्रत्येक वडामा एक जना दलित महिला सदस्यको अनिवार्य प्रतिनिधित्व तथा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले महिला र सीमान्तकृत समुदायलाई नीति निर्माण प्रक्रियामा समावेश गर्ने प्रयास गरेको छ। यद्यपि, कानुनी तथा संवैधानिक प्रावधानहरूले प्रतिनिधित्वको ढोका खोले पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र प्रभाव सुनिश्चित गर्ने लक्ष्य विभिन्न सामाजिक, आर्थिक तथा राजनीतिक कारणले अझै पूर्ण रूपमा हासिल हुन सकेको छैन। पर्वतीय समुदायहरूले भोगिरहेका यथार्थहरूलाई सही र जिम्मेवार ढंगले अभिलेखीकरण तथा प्रकाशन गरेर यी मुद्दामा काम गर्न जरुरी छ।
नेपालमा युवा नेतृत्वको सरकारले विकासका नयाँ मार्गहरू खोजिरहेको वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका प्रभावहरूको सम्बोधनलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ। उत्थानशील पर्वतीय समुदाय निर्माण, समावेशी नीति िनर्माणको प्रवर्धन, जलवायु अनुकूलनको सुदृढीकरण तथा हिन्दुकुश हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म विकासका अवसरहरू पुर्याउने प्रयासले वातावरणको संरक्षण मात्र गर्ने छैन, यी पर्वतहरूलाई आफ्नो घर मान्ने लाखौं मानिसको जीवन र जीविकोपार्जन पनि सुधार्नेछ।





-1782474458.jpg)

१२ असार , २,०८३