नोटिफाई नेपालLoading...



डिलहरूले ग्यासको मूल्य तोकिएको भन्दा बढी लिएको जनगुनासो आएपछि उदयपुर प्रशासनले चासो व्यापारिक संगठनको ध्यानाकर्षण गराएको छ। सरकारले तोकेको ग्यासको प्रति सिलिण्डर २ हजार ६० रुपैयाँ मूल्यभन्दा ४० रुपैयाँ बढी २ हजार १ सय रुपैयाँ लिएको जनगुनासो आएको भन्दै प्रशासनले ध्यानाकर्षण भएको जनाएको हो।
निर्धारित मूल्यभन्दा बढी रकम लिएको जनगुनासो आएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय व्यापारिक संघसंगठनलाई बुधबार पत्राचार गर्दै आवश्यक सहजीकरण गर्न सुझाएको छ। त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला उद्योग वाणिज्य संघ गाईघाटलाई लेखिएको पत्रमा ग्यासको मूल्य तोकिएको भन्दा बढी लिनुको कारण स्पष्ट पार्न भनेको छ।
निर्धारित मूल्यभन्दा बढी पैसा लिएर ग्यास बिक्री वितरण भइरहेको भन्ने जनगुनासो आएकाले त्यसबारे आवश्यक सहजीकरण गर्न प्रशासनको पत्रमा उल्लेख छ। प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित पत्रमा ‘नेपाल आयल निगम बबरमहल काठमाडौंले वितरण भइरहेको १४.२ किलो तौलको एलपी ग्यासको मूल्य २ हजार ६० तोकेकोमा उदयपुरको बजारमा २ हजार १ सय लिने गरेको उजुरी परेकाले सहजीकरण गरिदिन हुन अनुरोध छ’ उल्लेख छ।
त्रियुगा उद्योग वाणिज्य संघले भने ग्यासको मूल्य बढी लिएको नभई ढुवानी भाडा जोड्दा ४० रुपैयाँ प्रति सिलिण्डर बढी पर्न गएको जनाएको छ। संघका वरिष्ट उपाध्यक्ष दिनेश श्रेष्ठकाअनुसार निगमले तोकेको २ हजार ५० रुपैयाँ मूल्य कम्पनी रहेको स्थानदेखि ५० किलोमिटर दूरीसम्मका लागि मात्र हो। ५० किलोमिटरभन्दा टाढा दूरीको बजारमा लाँदा लाग्ने ढुवानी रकम जोड्दा प्रति सिलिण्डर४० रुपैयाँ थप पर्न गएर २ हजार १ सय लिनुपर्ने अवस्था सृजना भएको उपाध्यक्ष श्रेष्ठले बताए।
उदयपुर सदरमुकाम गाईघाटमा नारायणी, कोशी, कामाख्य, सुपर, प्रिमा, नोबेल र रिजालको कम्पनीका ग्यासहरू उपलब्ध हुने गरेको छ। ती सबै ग्यास एउटै मूल्यमा बिक्री वितरण हुँदै आएको जिल्ला उद्योग वाणिज्य संघ गाईघाटले जनाएको छ। संघका महासचिव सुनिल साहले बजारमा आउने सबै ग्यासको समान मूल्यमा वितरण गर्ने गरि एकरूपता कायम गरिएको बताए।







२० श्रावण , २,०८३