नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण नेपाली कांग्रेस विभाजनको मोडमा पुगेको बताएका छन्।
शनिबार सुर्खेतमा कांग्रेस कर्णाली प्रदेश समितिद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खड्काले नेतृत्वको कार्यशैलीप्रति आक्रोश पोखेका हुन्।
उनले पार्टीको केन्द्रीय मुख्यालय सानेपामा बस्ने नेतृत्व र गाउँ-बस्तीमा रहेका कार्यकर्ताबीच ठूलो वैचारिक र भावनात्मक खाडल सिर्जना भएको उल्लेख गरे।
वर्तमान नेतृत्वमा अहंकार, व्यक्तिगत स्वार्थ र पारिवारिक हित हाबी हुँदा पार्टीको सांगठनिक संरचना धराशायी बनेको उनको आरोप छ।
अनुशासनका नाममा तर्साउने खेल पार्टीभित्र पछिल्लो समय मौलाएको बताउँदै खड्काले भने, ‘अनुशासन र कारबाहीको डर देखाएर कार्यकर्तालाई तर्साउने प्रवृत्ति बढ्दो छ। कसले भोट दियो वा दिएन भन्ने आधारमा प्रतिशोध साँधेर कारबाही गर्नु गलत हो।’
उनले नेतृत्वलाई आफ्ना कमजोरी स्वीकार गर्दै कार्यकर्तासँग संवादको बाटो अपनाउन र सुध्रिन आग्रह गरे।
नेता खड्काले पार्टीभित्रको आन्तरिक कलह र अनेकताले राष्ट्रिय राजनीतिमै असर पुगेको दाबी गरे। ‘जिम्मेवार नेताहरूबाटै एकताभन्दा विभाजनकारी अभिव्यक्ति आइरहेका छन्, जसले संगठनलाई मात्र होइन, राष्ट्रियतालाई समेत कमजोर बनाउँदै लगेको छ,’ उनले भने।
पछिल्लो चुनावी परिणामबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उनले वर्तमान तथा निवर्तमान नेतृत्वलाई वातानुकूलित कोठाबाट निस्किएर गाउँबस्ती पुग्न सुझाव दिए। खड्काले भने, ‘अहिलेको अवस्थामा गम्भीर समीक्षा जरुरी छ। नेतृत्वले प्रत्यक्ष रूपमा कार्यकर्ताको भावना नबुझेसम्म पार्टी पुनः चलायमान हुन सक्दैन।’
कर्णाली प्रदेशका अगुवा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको उक्त गोष्ठीमा खड्काले पार्टीलाई एकजुट राख्न सबै तहका नेताहरूले त्याग र उदारता देखाउनुपर्नेमा जोड दिएका थिए।








१ जेठ , २,०८३