नोटिफाई नेपालLoading...



गण्डकीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रमा सुनामी आएको बताएका छन्। निर्माण व्यवसायीहरूको छाता संस्था गण्डकी प्रदेश निर्माण व्यवसायी सङ्घले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण उद्योगमा सुनामी आएको बताएका हुन्।
मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोललगायतमा भएको मूल्य वृद्धिले निर्माण सामग्रीको ढुवानीको लागत ह्वात्तै बढेको तथा निर्माण सामग्री उद्योगहरूले अप्रत्याशित रूपमा निर्माण सामग्रीमा मूल्यवृद्धि गर्दा त्यसको असर निर्माण उद्योगमा परेको उनीहरूको भनाइ छ।
इन्धनमा भएको मूल्यवृद्धि पश्चात निर्माण सामग्री उद्योगहरूले बिटुमिन, सिमेन्ट, रडलगायतका निर्माण सामग्रीहरूको मूल्य अप्रत्याशित रूपमा अत्यधिक बढाउँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको गण्डकी प्रदेश निर्माण व्यवसायी सङ्घका अध्यक्ष कृष्ण लम्सालले बताए।
‘एकातिर अत्यधिक मूल्य वृद्धिले निर्माणाधीन आयोजनाहरूको लागत वृद्धि भएको छ। अर्कोतर्फ निर्माण सामग्रीको अभावले निर्माण उद्योग लगभग ठप्प हुने स्थितिमा पुगेको छ’,उनले भने। मूल्य वृद्धिले निर्माण व्यवसायी दोहोरो मारमा पर्दा उद्योग नै धराशायी बन्ने खतरा देखा परेको उनको भनाइ छ।
सङ्घले यही कारण राष्ट्रिय गौरवका आयोजनाहरूको काम ठप्प भएको जनाएको छ। निर्माण क्षेत्रमा भएको वर्तमान विकराल स्थितिबारे सरकारको बारम्बार ध्यानाकर्षण गराए पनि समाधानका लागि ठोस पहल नभएको सङ्घका अध्यक्ष लम्सालले बताए। ‘सरकारले मौखिक आश्वासन मात्रै दियो’,अध्यक्ष लम्सालले भने,‘तर ठोस कदम नचाल्दा पूर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू, यस क्षेत्रमा कार्यरत लाखौँ श्रमिकहरू तथा यस क्षेत्रसँग सम्बन्धित अन्य उद्योगहरू आर्थिक रूपमा धराशायी भएका छन्।’
सङ्घले निर्माणाधीन आयोजनाहरूको लागत मूल्य समायोजन गर्न माग गरेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि अनुसार नै मूल्य समायोजन गर्न आग्रह गरे। उनले भने,‘प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरूप मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन र निर्माण व्यवसायीलाई बचाउन सरकारसमक्ष अपिल गर्दछौँ।’
साथै सङ्घले मूल्य वृद्धिले उत्पन्न असहज परिस्थितिका कारण निर्माणाधीन आयोजनाहरू पूर्व निर्धारित समयमै सम्पन्न हुने स्थिति नरहेकाले बैंक ग्यारेन्टी, इन्सुरेन्स तथा क्षतीपूर्तीसहित ती आयोजनाहरूको निर्माणको म्याद थप गर्ने वातावरण निर्माण गरिदिन सरोकारवाला सबैलाई आग्रह गरेको छ।








१३ बैशाख , २,०८३