नोटिफाई नेपालLoading...



पर्यटनमा दीगो विकास गर्ने, जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्ने, कार्वन उत्सर्जन कम गर्ने उपाय लगायतमा सहकार्य गर्नेगरि पोखरा पर्यटन परिषद् (पिटिसी) र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघले सम्झौता गरेका छन्।
चीनको यो संस्थाले परिषद्सँग मिलेर पोखरामा कार्वन न्यूट्रालिटी नीति अनुसन्धान, हरित वित्त, कार्वन सम्पत्ति व्यवस्थापन, न्यून कार्वन प्रविधि प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय आदानप्रदानमा सघाउने छ। परिषद्को तर्फबाट अध्यक्ष तारानाथ पहारी र चिनियाँ संस्थाको तर्फबाट वु चाओले सम्झौतामा हस्ताक्षर गरेका छन।
पछिल्लो समय जलवायु परिवर्तनका कारण चूनौती बढिरहेकोले त्यसलाई कम गर्नका लागि सहकार्य गरेको अध्यक्ष तारानाथ पहारीले बताए। पहारीका अनुसार कार्वन न्यूट्रालिटी र हरित विकासमा चीनको परिपक्व अनुभव र प्रविधिलाई पोखराको स्थानीय अवस्थासँग संयोजन गराउनका लागि यो सहकार्यले सघाउने अपेक्षा छ। पोखराको पर्यटन उद्योगलाई हरित तथा न्यून कार्वन होटलको रुपमा विकसित गर्ने, पर्यटन, स्थल तथा यातायात प्रणालीको विकासमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ।
त्यस्तै न्यून कार्वन कृषि मोडलको विकास गर्दै स्थानीय कृषि उत्पादनको हरित प्रमाणीकरण र न्यून कार्वन उत्पादनलाई प्रवर्द्धन् गरि मुल्य अभिवृद्धि गर्ने उद्देश्य अनुसार सम्झौता गरिएको अध्यक्ष पहारीले बताए। ‘पोखराले मात्र नभई आसपासका क्षेत्रले पछिल्लो समय जलवायु परिवर्तनको अप्ठेरो खेपिरहेको छ। त्यसबाहेक कार्वन उत्सर्जन कम गर्ने उपायबारे पनि काममा ढिलाई भईसकेको छ,’ उनले भने, ‘वातावरणले निम्त्याएको अप्ठेरोबारे सहकार्य गर्नका लागि सम्झौता भएको हो।’
पहारीका अनुसार न्यून कार्वन प्रविधि र व्यवस्थापन अवधारणको प्रयोगमार्फत पोखराको पर्यटन उद्योगलाई उन्नत बनाउँदै अन्तर्राष्ट्रिय प्रतिश्पर्धात्मकता अभिवृद्धि गर्नका लागि दुईवटा संस्थाले सहकार्य गर्नेछन। त्यसैगरि स्वच्छ उर्जा, फोहोर व्यवस्थापन र उर्जा दक्ष भवन जस्ता हरित प्रविधिलाई पोखरामा भित्र्याई वातावरणीय चूनौतीका समाधान गर्नुका साथै नयाँ हरित आर्थिक अवसर सिर्जना गर्ने उद्देश्य पनि रहेको उनले बताए।
हरित सहकार्यलाई आधार बनाउँदै ट्रान्स हिमालय बहुआयामिक सम्पर्क सञ्जाल निर्माण पहललाई समर्थन गर्ने र व्यावहारिक सहकार्यमार्फत दुवै देशका जनताबीच आपसी विश्वास र मित्रता अभिवृद्धि गर्ने पनि सम्झौतामा उल्लेख छ। पोखरामा नियमित सहकाय अन्तर्गत चिनियाँ मसला पसल स्थापना गर्न पनि साझेदारी गर्ने सम्झौतामा उल्लेख छ।
‘जलवायु परिवर्तन पोखराको मात्र नभई समग्र विश्वको समस्या बनिसकेको छ। हामीले सुस्त गतिमा यो अप्ठेरो भोगिरहेका छौं,’ परिषद्का सल्लाहकार बासु त्रिपाठीले भने, ‘पोखरा र आसपासका स्थानीय तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि सघाउनेछ।’
चिनियाँ संस्थाका तर्फबाट वु चाओले यो सम्झौतामार्फत दुई मुलुकमा काम हुनेछ। ‘जलवायु परिवर्तनसँग जुध्न एक्लै सम्भव छैन। हामी सबैजना नागरिक प्रकृतिका साथी हौ। त्यसैले प्रकृति जोगाउन जरुरी छ,’ उनले भने, ‘हामीले प्रकृतिलाई अहिलेका लागि मात्र प्रयोग गरेर हुँदैन। भविश्यका पुस्ताका लागि पनि हाम्रो प्रकृति जोगाएर राख्न जरुरी छ।’ हामीले हाम्रो पुस्ताका लागि मात्र नभई आगामि पुस्ताका लागि पनि काम गर्नुपर्ने उनले बताए।
परिषद्का महासचिव जीवनराज सापकोटाले दीगो पर्यटनमा काम गर्न नसकेको खण्डमा भविश्यमा समस्या आउन सक्ने चिन्ता रहेको बताए। ‘पोखरामा कार्वनको न्यून प्रयोग गर्ने उपाय पहिचान गर्न जरुरी छ। चिनियाँ अभ्यासलाई पोखरामा लागु गर्दा यसले पर्यटन दीगो बनाउने अपेक्षा छ,’ उनले भने। पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछानेले यो सहकार्यले जलवायु परिवर्तनको असरबाट बच्न सघाउने बताए। ‘जलवायु परिवर्तन नेपालको मात्र नभई सबैतिरको समस्या हो। यससँग जुध्नका लागि सहकार्य आवश्यक छ,’ उनले भने।