नोटिफाई नेपालLoading...



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठनको तयारी अघि बढाएका छन्। शुक्रबार ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै उनीहरूले राजावादी तथा राष्ट्रवादी शक्तिलाई एउटै राजनीतिक छातामुनि ल्याउने संकेत गरेका हुन्।
लामो समयदेखि विभिन्न समूह र अभियानमा विभाजित देखिएको राजावादी धारलाई संगठित गर्ने उद्देश्यसहित राणा र प्रसाईंबीच सहमति भएको राजनीतिक वृत्तमा चर्चा छ। सहमतिपत्रमा सनातन हिन्दु अधिराज्य, पृथ्वीनारायण शाहको राष्ट्रवादी दर्शन, नागरिकता, सङ्घीयता, सुशासन र स्वदेशी अर्थतन्त्रलगायतका एजेन्डा समेटिएका छन्।
विशेषगरी राप्रपाभित्रको आन्तरिक असन्तुष्टिपछि पार्टीबाट बाहिरिएका राणाले प्रसाईंसँग सहकार्य गर्दै नयाँ राजनीतिक विकल्प निर्माणको अभियान थालेका हुन्। सहमतिपत्रको नवौँ बुँदामा विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संस्था र व्यक्तिलाई समेत समेटेर नयाँ दल घोषणा गर्ने उल्लेख गरिएको छ, जसलाई राजावादी शक्तिको बृहत् एकीकरणको प्रयासका रूपमा हेरिएको छ।
सहमतिपत्रमा नयाँ पार्टीमा ६० प्रतिशत युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसलाई परम्परागत राजावादी राजनीतिलाई नयाँ पुस्तासँग जोड्ने रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय स्थापित दलप्रति बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा राणा–प्रसाईं सहकार्यले नयाँ राजनीतिक ध्रुव निर्माण गर्ने प्रयास गरेको देखिन्छ। यद्यपि यो अभियानले राजावादी मतलाई एकीकृत गर्न सक्छ वा थप विभाजन निम्त्याउँछ भन्ने प्रश्न भने खुला नै छ।
स्रोतका अनुसार मलमास सकिएलगत्तै नयाँ राजनीतिक दलको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ। नयाँ दल घोषणासँगै आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राष्ट्रवादी शक्तिको रूपमा आफूलाई स्थापित गर्ने उनीहरूको रणनीति रहेको बताइएको छ।
११ बुँदे सहमतिका मुख्य आधार
-नेपालको भूगोल, किराँत र बौद्ध सभ्यतासहितको सनातन हिन्दु अधिराज्यको अवधारणा।
-पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन।
-राष्ट्रिय स्वाभिमानसहितको सुधारमुखी सङ्घीयता।
-‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणासहित दोहोरो नागरिकताको व्यवस्था।
-लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजबाट प्रभावित भूमिहीन र सुकुम्बासीको समस्या समाधान।
-असंलग्न परराष्ट्र नीति।
-सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण।
-स्वदेशी उत्पादनमा आधारित मिश्रित अर्थतन्त्र।
-समान विचारधारा भएका दल, अभियान र व्यक्तिसँग सहकार्य गर्दै नयाँ पार्टी गठन।
-नयाँ दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता।
-नेपाली नागरिक केन्द्रित राष्ट्रवादी दर्शन।






२२ जेठ , २,०८३