नोटिफाई नेपालLoading...



फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार इक्वेडरले चार पटकको विजेता जर्मनीलाई पराजित गर्दै नकआउट चरणमा पुग्यो।
ऐतिहासिक जितपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले राष्ट्रिय बिदाको घोषणा गरे।
राष्ट्रपति डेनियलले जिते लगत्तै सामाजिक सञ्जालमा लेखेका थिए, ‘खेलाडीहरू र प्रशिक्षकलाई धन्यवाद। आलोचना, अपमान र कठिन क्षणहरूबिच सम्पूर्ण देशलाई यो अपार आनन्द दिन सफल भए। भोलि, छुट्टी।’
आइभरी कोस्टसँग पराजित र कुरासाओसँग बराबरी खेलेपछि बिहीबार समूह ई को आफ्नो अन्तिम खेलमा इक्वेडरलाई जित आवश्यक थियो।
दक्षिण अमेरिकी टोलीले जर्मनहरू विरुद्ध सुरुमै हार स्वीकार गर्यो तर जित सुनिश्चित गर्न पुनरागमन गर्यो। २३ वर्षीय विंगर निल्सन एङ्गुलो र गोन्जालो प्लाटाले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।े जितपछि न्यू जर्सी रंगशालामा प्रशंसकहरूले उत्सव मनाए।
समूह विजेताको रूपमा जर्मनी पहिले नै छनोट हुने कुरा सुनिश्चित भइसकेको थियो। कुरासाओमाथि २–० को जित हासिल गरेपछि आइभरी कोस्ट दोस्रो स्थानमा रह्यो। इक्वेडर तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोलीहरू मध्ये एकको रूपमा छनोट भयो।
यो जित इक्वेडरको विश्वकप इतिहासकै सबैभन्दा महत्वपूर्ण सफलतामध्ये एक मानिएको छ। विश्वकपमा पाँचौं सहभागिता जनाइरहेको इक्वेडरले यसअघि केवल एक पटक मात्र समूह चरण पार गरेको थियो। २००६ मा जर्मनीमा भएको प्रतियोगितामा उनीहरू राउन्ड अफ १६ मा पुगेका थिए।
दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थान हासिल गरेको इक्वेडरलाई प्रतियोगिताअघि नै बलियो टोलीका रूपमा हेरिएको थियो। चेल्सीका मिडफिल्डर मोइसेस काइसेडो, पेरिस सेन्ट–जर्मेनका डिफेन्डर विलियन पाचो र आर्सनलका पिएरो हिन्कापी जस्ता खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन्।
जर्मनीविरुद्धको जितपछि प्रशिक्षक सेबास्टियन बेकासेसले टोलीको सफलता व्यक्तिगत प्रतिभाभन्दा पनि एकता, अनुशासन र समर्पणको परिणाम भएको बताए।
उनले अनुभवी फरवार्ड एनेर भ्यालेन्सियाले कप्तानीको आर्मब्यान्ड मोइसेस काइसेडोलाई जिम्मेवारीपूर्वक हस्तान्तरण गरेको प्रसंग उल्लेख गर्दै टोलीमा अहंकारभन्दा सहकार्यको भावना बलियो रहेको बताए।
जर्मनीका कप्तान जोशुआ किमिचले भने विपक्षी टोली आफ्नो टोलीभन्दा बढी जित्न प्रतिबद्ध देखिएको स्वीकार गरे।







१२ असार , २,०८३