नोटिफाई नेपालLoading...



सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति शुक्रबार मुस्ताङ पुगेको छ।
विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिए।
छानबिन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए। चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो।
टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ। कोरला नाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत शुक्रबारै टोलीले स्थलगत अनुगमन गरेका भन्सार प्रमुख चुडालले उल्लेख गरे। मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ।
छानबिन टोली कोरला नाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ।
गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरला नाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो।
कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरिले जानकारी दिए। रासस







२२ जेठ , २,०८३