नोटिफाई नेपालLoading...



युरोपेली मुलुक पोर्चुगलमा युरोप स्तरीय 'एनआरएनए टि-१०' क्रिकेट प्रतियोगिता-२०२६ हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म राजधानी लिस्बनमा पहिलोपटक युरोपस्तरीय 'एनआरएनए टि-१०' क्रिकेट प्रतियोगिता- २०२६ हुने भएको हो । नेपाली युवापुस्ता माझ क्रिकेटप्रतिको बढ्दो आकर्षण, क्रिकेटप्रतिको रुचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलोपटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ ।
नेपाली क्रिकेट खेलाडी तथा क्रिकेट प्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने, खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने, नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्ने तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुरज विष्टले जानकारी दिए । उनका अनुसार प्रतियोगितामार्फत युरोपका विभिन्न मुलुकमा रहेका नेपाली समुदायका बीच आपसी भाइचारा, मित्रता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
साथै, प्रवासमा खेलकुदको माध्यमबाट नेपाली कला, भाषा र संस्कृतिको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित विदेशी भूमिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको विष्टले बताए ।
प्रतियोगिताका ब्रान्ड एम्बेसडर समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी विनोद भण्डारीको समेत सहभागिता रहने प्रतियोगितामा युरोपका विभिन्न मुलुकका गरि आठ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले ५ हजार ५ सय ५५ युरो अर्थात् करिब ९ लाख ६५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा उपविजेताले २ हजार ५ सय ५५ युरो अर्थात् ४ लाख ४५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।
उक्त पुरस्कारको धनराशि युरोपमा आयोजना हुने नेपाली खेलकुद प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा ठूलो राशी रहेको आयोजकको दाबी रहेको छ । विष्टका अनुसार प्रतियोगिता आयोजना गर्न ४५ हजार युरो अर्थात् करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जनाउँदै आयोजकले खेल सञ्चालन, प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, प्राविधिक व्यवस्थापन तथा अन्य तयारीलाई तीव्र बनाइएको जनाएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक उपसमिति गठन गरी व्यापक तयारीमा लागिएको विष्टले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली संस्कृति झल्कने सांस्कृतिक झाँकीसमेत प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए ।
‘प्रतियोगिता खेल र प्रतिस्पर्धामा मात्र सीमित रहने छैन।, प्रतियोगितामार्फत पोर्चुगलसहित युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेट खेलाडीहरूको क्षमता र सम्भावनालाई उजागर गर्दै भविष्यमा नेपाली क्रिकेटको थप विकासका लागि आधार तयार गर्न सकिने हामीले अपेक्षा राखेका छौँ,’ विष्टले भने ।
प्रतियोगितालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि पोर्चुगलवासी नेपाली समुदायलाई आवश्यक सहयोग र सक्रिय सहभागिताका लागि संघले विशेष आग्रह समेत गरेको छ । लिस्बनबाट भरत प्रधान






२० श्रावण , २,०८३