नोटिफाई नेपालLoading...



दुई वर्ष पुरानो विवाद सल्टाउन नसक्दा नेपाल पत्रकार महासंघ यूके शाखा पुनः विभाजनको संघारमा पुगेको छ।
सदस्यता वितरण, निर्वाचन प्रक्रिया तथा केन्द्रीय निर्देशन पालना नगरेको विषयमा उत्पन्न विवादका कारण शाखाको १५औँ स्थापना दिवस दुई समूहले छुट्टाछुट्टै मनाउने तयारी गरेपछि संस्था विभाजन उन्मुख भएको हो। शाखा अध्यक्ष विमला सेने नेतृत्वको समूहले शुक्रबार (आज) साँझ अल्डरशटमा छुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। यसैबीच संस्थापकहरूको समूहले शुक्रबार दिउँसो भर्चुअल स्थापना दिवस कार्यक्रम आयोजना गरेका छन्।
यसअघि नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माको निर्देशनमा वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा विवाद समाधान समिति गठन गरिएको थियो। तर योगी संयोजकत्वमा गठित समितिले दिएको सुझाव कार्यान्वयन गर्न शाखा अध्यक्ष विमला सेने समूहले आनाकानी गरेपछि विवाद थप जटिल बनेको संस्थापक मध्येका एक विपिन निरौला बताउँछन्।
शाखाको पाँचौँ महाधिवेशनका क्रममा सदस्यता वितरण, निर्वाचन प्रक्रिया तथा त्यससम्बन्धी केन्द्रमा दर्ता गरिएका उजुरीहरूको निष्पक्ष छानबिनका लागि वरिष्ठ पत्रकार भगीरथ योगीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो। उक्त समितिले २७ अक्टोबर २०२५ मा केन्द्रीय अध्यक्षको उपस्थितिमा बसेको बैठकमार्फत आफ्नो प्रतिवेदन केन्द्र तथा शाखा अध्यक्ष विमला सेनेसमक्ष पेश गरेको थियो।
साथै, महासंघ महासचिव रामप्रसाद दाहालद्वारा २०८२ मंसिर १४ गते जारी गरिएको प्रतिवेदन कार्यान्वयनसम्बन्धी परिपत्रसमेत यूके शाखाबाट बेवास्ता गरिएको थियो।
शाखाका एक दर्जन संस्थापक सदस्यहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा बेलायतस्थित सम्पूर्ण नेपाली पत्रकारहरूलाई एउटै साझा छातामुनि एकीकृत गर्न, पत्रकार भगीरथ योगी नेतृत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई आधार मानी सबै पक्षको अपनत्व सुनिश्चित हुने गरी संस्था सञ्चालन गर्न तथा स्थापना दिवस एकताबद्ध रूपमा मनाउने वातावरण बनाउन माग गरेका छन्।
शाखा अध्यक्ष विमला सेनेको कार्यसमितिले ६ जुलाईमा बसेको बैठकले योगीले पेश गरेको एकतासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको दाबी गरेको छ। तर संस्थापन पक्षले सदस्यता वितरण अहिलेसम्म नखोलिएको, आगामी निर्वाचनलाई प्रभाव पार्ने गरी गतिविधि गरिएको र पत्रकार भगीरथ योगीद्वारा प्रस्तुत प्रतिवेदनलाई तोडमोड गर्ने प्रयास गरिएको आरोप लगाएका छन्।
शाखाको गत पाँचौँ महाधिवेशनमा भएको निर्वाचन प्रक्रिया, सदस्यता वितरण लगायतका विषयमा भएको विवाद समाधान नहुँदा पटक-पटक विवाद हुँदै आएको छ।








३२ असार , २,०८३