नोटिफाई नेपालLoading...



नेपाल विद्युत् प्राधिकरणले शुक्रबार (साउन १) देखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ।
सरकारको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन। त्यसभन्दा माथिको खपतमा लाग्ने विद्युत् महसुलमा मात्रै ५ प्रतिशत भ्याट जोडिनेछ।
यस व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या ३० लाखभन्दा बढी छ। त्यस्तै ५१ देखि १५० युनिटसम्म खपत गर्ने करिब १२ लाख घरधुरी र १५१ देखि २५० युनिटसम्म खपत गर्ने करिब दुई लाख ५० हजार घरधुरी नयाँ व्यवस्थाबाट प्रभावित हुनेछन्।
नयाँ व्यवस्थाले घरमा पानी तान्ने मोटर, गिजर, हिटर, इन्डक्सन, इन्फ्रारेड चुल्होलगायत विद्युतीय उपकरण प्रयोग गर्ने तथा विद्युतीय सवारीसाधन चार्ज गर्ने उपभोक्ताको मासिक विद्युत् बिल बढ्ने देखिएको छ।
उदाहरणका लागि, ५ एम्पियरको मिटर जडान गरी मासिक १०० युनिट विद्युत् खपत गर्ने ग्राहकले हाल ८३५ रुपैयाँ महसुल तिर्दै आएका छन्। नयाँ व्यवस्थाअनुसार ५१ देखि १०० युनिटसम्मको महसुलमा ५ प्रतिशत भ्याट थपिँदा २३ रुपैयाँ ७५ पैसा अतिरिक्त तिर्नुपर्नेछ। यसरी त्यस्ता ग्राहकको मासिक विद्युत् बिल ८५८ रुपैयाँ ७५ पैसा पुग्नेछ।
यता, ऊर्जा क्षेत्रका जानकारहरूले अतिरिक्त भ्याटले विद्युतीकरण अभियानमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। पछिल्ला वर्षहरूमा खाना पकाउने, पानी तान्ने र सवारीसाधन चार्ज गर्न विद्युत्को प्रयोग बढिरहेका बेला करको थप भारले विद्युत् प्रयोगलाई निरुत्साहित गर्न सक्ने उनीहरूको भनाइ छ।
यद्यपि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने पहिलो ५० युनिट भ्याटमुक्त रहने भएकाले सबै विद्युत् महसुलमा ५ प्रतिशत कर नलाग्ने बताएका छन्। उनका अनुसार ३०० युनिटसम्म विद्युत् खपत गर्ने अधिकांश ग्राहकको प्रभावकारी भ्याट दर ५ प्रतिशतभन्दा कम रहनेछ।








३२ असार , २,०८३