नोटिफाई नेपालLoading...



आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध सानदार शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टप अर्डरले लय समात्नु महत्त्वपूर्ण रहेको बताएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ९ विकेटले पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
भुर्तेलले लामो समयदेखि नेपाली टोलीको टप अर्डरले अपेक्षित प्रदर्शन गर्न नसकिरहेको अवस्थामा शनिबारको साझेदारीले ठुलो राहत दिएको बताए।
‘मैले बनाएको १०० रनभन्दा पनि टप अर्डरले टोलीलाई राम्रो सुरुवात दिनु मेरा लागि ठुलो खुसीको कुरा हो,’ उनले भने, ‘धेरै समयदेखि हामीले राम्रो सुरुवात दिन सकिरहेका थिएनौँ, आज त्यो सम्भव भयो र यसले मलाई व्यक्तिगत रूपमा पनि निकै सन्तुष्टि दिएको छ।’
लामो समयपछि लयमा फर्किएका भुर्तेलले अघिल्ला केही खेलहरूमा बेन्चमा बस्नुपर्दाको अनुभव र टोलीभित्रको प्रतिस्पर्धाका बारेमा पनि चर्चा गरे। उनले टोलीमा आफ्नो स्थान सुरक्षित गर्न प्रतिस्पर्धा रहेको र त्यसले खेलाडीलाई थप जिम्मेवार बनाउने उल्लेख गरे।
२–३ खेल बाहिर बसेर पुनः मैदान फर्कँदा दबाब हुने भए पनि त्यसलाई सकारात्मक रूपमा लिएर अघि बढेको उनको भनाइ थियो।
अमेरिकाले दिएको १९५ रनको लक्ष्यका बारे बोल्दै भुर्तेलले पिचको अवस्था हेर्दा विपक्षी टोलीले २२० देखि २३० रनसम्म बनाउन सक्ने अनुमान गरिएको बताए। ‘विकेट राम्रो थियो, हामीले सुरुमा उनीहरूलाई २०० मुनि नै रोक्न सक्यौँ, जसले गर्दा हाम्रो ब्याटिङमा थप आत्मविश्वास बढ्यो,’ उनले थपे।
कीर्तिपुर मैदानमा शनिबारको दिन भएकोले दर्शकहरूको उपस्थिति उल्लेख्य थियो। ठुलो सङ्ख्यामा उपस्थित घरेलु समर्थकहरूका अगाडि शतक प्रहार गर्न पाउँदा आफूलाई निकै गर्व महसुस भएको भुर्तेलले बताए।
उनले भने, ‘अहिलेसम्मकै धेरै दर्शकहरूको अगाडि आफ्नो शतकीय इनिङ्स खेल्न पाउनु एउटा खेलाडीका लागि अविस्मरणीय क्षण हो। आज शनिबार पनि भएकाले दर्शकहरूको समर्थनले हामीलाई थप ऊर्जा दियो।’
नेपाली टोलीले जारी शृङ्खलामा अहिलेसम्म खेलेका ५ खेलमध्ये ३ खेलमा जित हात पारिसकेको छ। अब बाँकी रहेका ३ खेलहरूमा पनि यसै लयलाई कायम राख्दै अधिकतम अंक बटुल्ने लक्ष्य रहेको भुर्तेलले बताए।
उनले आसिफ शेखसँगको १४५ रनको साझेदारीले खेललाई सहज बनाएको र आगामी खेलहरूमा पनि यस्तै किसिमको तालमेल आवश्यक रहेकोमा जोड दिए।
अमेरिकाविरुद्धको खेलमा भुर्तेलले ११८ बल खेल्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रन बनाएका थिए।
भुर्तेलले आफ्नो सफलतालाई टोलीको सामूहिक प्रयास र समर्थकहरूको मायाको परिणाम भएको भन्दै सबैलाई धन्यवाद दिए।








१ जेठ , २,०८३