नोटिफाई नेपालLoading...



नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडिगाड गाउँपालिका-२ को गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.ले उत्पादन गरेको लघुजलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि खाना पकाउने प्रविधि विकास नमुना कार्यक्रमको उद्घाटन गरिएको छ।
इनोभेट युकेको आर्थिक सहयोग र साझेदार संस्थाहरू एक एण्ड एओ लिमिटेड युके, स्वीय युनिभर्सिटी एचएसएलयु, इन्भेष्ट इन ग्रीन युके, जेट इन्जिनियरिङ युके, नेपाल इनर्जी फाण्डेसन, उर्जा र वातावरणका लागि महिला सञ्जाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरङ्दीखोला लघु जलविद्युत सहकारी संस्था लि.को साझेदारीमा एसियामै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रो उत्पादन र यसको प्रयोग नमुना परीक्षण सफल भएको नेपाल इनर्जी फाण्डेसनका कार्यकारी व्यवस्थापक डिल्ली घिमिरेले बताए।
‘हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर आठ वटा संस्थाको साझेदारीबाट यो काम सम्पन्न भएको छ, हाइड्रोजन उत्पादन संसारमा नयाँ होइन, नेपालमै पनि नयाँ होइन, तर खाना पकाउने प्रयोजनका लागि भएको परीक्षण यो चाँही पहिलो पटक हो,’ उनले भने, ‘हामीले सन् २०२३ मार्चबाट सुरु गरेको कार्यले अहिले मूर्त रुप लिएको छ।’ यो परियोजनाका लागि इनोभेट युकेले झण्डै एक करोड रुपैयाँ सहयोग गरेको उनले बताए। ‘हामीले युके सरकारको इनोभेट युकेमार्फत बिड गरेर झण्डै एक करोड रकम यो परियोजनाका लागि प्राप्त गरेका थियौं,’ उनी भन्छन्, ‘त्यस बाहेक अन्य अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको खोज अनुसन्धानका खर्च आफ्नै छ। त्यसैले यसमा ठ्याक्कै यति नै खर्च भएको भन्ने यकिन छैन।’
एसएओ लिमिटेड युकेका निर्देशक डा. ड्रिक कुलुङ्म्यानले विश्वमा हाइड्रोजन उत्पादन १९ औं सताब्दीदेखि भए पनि खाना पकाउनका लागि हरित हाइड्रोजन उत्पादन पहिलो पटक भएको बताए। ‘हामीले आज ग्रिन हाइड्रोजन उत्पादन गरेर खाना पकायौं, यो पहिलो पटक हो, यसबाट मलाई निकै खुसी लागेको छ,’ उनले भने। हाइड्रोजन उत्पादनका लागि गिरङ्दीखोला लघुजलविद्युतको कुलो मर्मत र ट्रान्सर्फमर फेर्नका लागि परियोजनाले लगानी गरेको छ। विगत ३ वर्षको प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो।
‘हामीले दुई वर्ष अगाडि काठमाडौं विश्वविद्यालयमा खाना पकाउने प्रयोजनको सफल परीक्षण गर्यौं,’ नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धर भन्छन्, ‘त्यसपछि यहाँका स्थानीयसँग पनि बसेर खाना पकाएर खाने कार्यको परीक्षण गरेका थियौं। खाना पकाउन सजिलो हुन्छ सकिन्छ भन्ने भएपछि यही हाइड्रोजन उत्पादन सुरु गरिएको हो।’ पहिलो पटक परीक्षणमा हाइड्रोजन बल्दा आगो नदेखिएका कारण पुनः थप १८ महिना लगाएर आखो देखिने गरी तयार गरेको उनी बताउँछन्। हाइड्रोनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलीपीजी ग्याँस र दाउरालाई विस्थापन गर्नसक्ने उनी बताउँछन्।
‘नेपालमा यो नमुनाको काम सफतापूर्वक सम्पन्न भएको छ, अब यसमा सरकारले लगानी गरेर थप अनुसन्धान गरेर अगाडि जानसक्दा यसले दाउरा र एलपीजी ग्याँसको विकल्प बन्नसक्छ,’ उनले भने,‘अहिले तत्काल भर्खर अनुसन्धान पूरा भएको छ। उत्पादन सम्भव छ, खाना पकाउन सकिन्छ भन्ने देखिएको छ। चार किलो एलपीजी ग्याँसले गर्ने काम एक किलो हाइड्रोजन ग्याँसले गर्छ।’ अहिले यो नमुना परीक्षण सफल भएको र यसलाई सरकारले थप लगानी गरेर परिमार्जित गर्दै लैजानुपर्ने उनको भनाइ छ।
‘अहिले हामीले ५० किलोको शिलिन्डरमा जम्मा एक किलो हाइड्रोजन ग्याँस भरेका छौं, यो आम उपभोक्ताको भान्छासम्म पुर्याउन तत्कालनका लागि अलि गाह्रो छ, यसमा सरकारले थप अनुन्धान गरेर हल्का खालको शिलिन्डर प्रयोग गर्ने वातावरण बनाउँदा नेपालमा खेरा गइरहेको धेरै लघुजलविद्युतबाट हाइड्रोजन उत्पादन गरेर उर्जा क्षेत्रमा आत्मनिर्भर हुन सकिन्छ,’ उनले भने। नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि ऐन कानुनको स्पष्ट व्यवस्था हुनुपर्ने उनी बताउँछन्। नेपाल इनर्जी फाण्डेसनका उपाध्यक्ष शेरसिंह भाटले नेपालमा खपत हुने कुल ऊर्जामध्ये ६१ प्रतिशत घरायसी ऊर्जाको रूपमा प्रयोग हुने बताए।
‘हाम्रो खपत उर्जाको अधिकांस भाग आयातित उर्जामा छ, अहिलेको अन्तर्राष्ट्रिय परिवेशले ऊर्जाको स्रोतमा एकाधिकारको प्रयास पनि भैरहेको देखिन्छ, त्यसबाट मूल्य बढ्ने समस्या छ,’उनी भन्छन्,‘त्यसको विकल्प भनेको नेपाल सरकारले हरित हाइड्रोजनमा लगानी गरेर स्वदेशी उर्जा प्रयोग गरेर गर्न सक्छ। भोली इन्धनका चर्को मूल्य बढ्दा यसबाट राहत हुनसक्छ।’ उर्जा र वाताबरणका लागि महिला सञ्जालका अध्यक्ष कला तिमिल्सीनाले हरित हाइड्रोजनका भान्छामा हुने प्रयोगले आम महिलाको स्वास्थ्यसमा सकरात्मक प्रभाव पर्ने बताइन्।
‘हामीले यहाँ आएर महिला दिदीबहिनीको अवस्थाको बारेमा अध्ययन गर्यौं, हरित हाइड्रोजनको सफल उत्पादन भएको यसलाई सर्वसुलभ र सरल बनाउन सक्दा यहाँका महिला दिदीबहिनीको समस्या समाधान हुनेछ।’ हरित हाइड्रोजन ग्याँस उत्पादन र खाना पकाउने प्रविधि विकास नमुना कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले पहिलो प्रयास सफल भएको र यसको थप अनुसन्धान र विकासका लागि प्रदेश सरकारले स्थानीय तह र संघ सरकारसंग समन्वय र सहकार्य गर्ने बताए।
‘यो परीक्षण सफल भयो, यो हाम्रो लागि खुसीको कुरा हो,’ उनले भने, ‘तर अहिले नै उत्साहित हुने अवस्था छैन। यसको अझ धेरै विकास आवश्यक छ। प्रदेश सरकारले संघ र स्थानीय तहसंग मिलेर यसलाई अगाडि बढाउने विषयमा हामी गम्भीरतापूर्वक लाग्छौं।’ नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
‘हरित हाइड्रोजनको उत्पादन र बिक्री वितरणका लागि नेपालमा ऐन कानुन छैन, सरकार त्यसमा काम गर्नुपर्छ, प्रविधिको थप विकास गर्नुपर्नेछ त्यसमा पनि संघ सरकारको लगानी आश्यक छ,’ उनले भनिन्, ‘हामीले नमुना परीक्षण सफल गर्यौं। अब संघ सरकारले यसको अपनत्व लिनुपर्छ।’ सरकारले प्रविधि र शिलिण्डर सर्वसुलभ बनाएको खण्डमा बडिगाडमा रहेका १४ वटा हाइड्रोवापरबाट हरित हाइड्रोजन उत्पादन गरेर स्थानीयलाई उपलब्ध गराउन सकिने बताइन्।








१ जेठ , २,०८३