नोटिफाई नेपालLoading...



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गरेको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए।
समितिलाई आगामी १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्ने, बिरामीको उपचार इतिहास, ‘रिफरल’, पुनःसेवा र ‘क्लिनिकल फलोअप’ व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरसम्बन्धित स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने, अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने, स्पष्ट ‘रिफर प्रोटोकल’लगायतका प्रणाली लागू गर्न समितिलाई कार्यादेश दिएको छ।
सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्न, अस्पताल फार्मेसीमा औषधिको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउन कार्यादेश दिएको जनाइएको छ।
मन्त्रालयका सूचना अधिकारी केसीले १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको बताए।








२३ चैत , २,०८२