नोटिफाई नेपालLoading...



मुस्लिम समुदायको महान पर्व मुहर्रम मुस्लिम र हिन्दु समुदायले धुमधामसँग सँगै मनाएका छन्। मुस्लिमहरूको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा शुक्रबार मुस्लिम र हिन्दुहरूले सँगै मनाएका हुन्।
एकआपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरूले हर्षोल्लास र धुमधामसँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरूले विशेष नमाज पाठ गरी देशमा स्थायी शान्तिका लागि कामना समेत गरेका थिए।
जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने कर्बला (चिहान वा युद्धको मैदान) मा मेला भर्न हजारौं श्रद्धालु भक्तजनहरू आएका थिए। यो पर्वमा हजरत इमाम हुसैनको प्रतीकका रूपमा ताजियालाई पूजा–अर्चना गरिएको थियो। जिल्लाका १० वटै पालिकामा रहेका कर्बलामा ताजियालाई सेलाइएको थियो।
भाकल गरी ताजियालाई पूजा–अर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकांक्षा पूरा हुने गरेको भक्तजनहरू बताउँछन्। साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रिएका काम समेत बन्ने धार्मिक विश्वास रहेको छ।
कर्बलामा मुस्लिम र हिन्दु समुदायले ताजियाको विशेष पूजा गरी मौलानाहरूसँग दुवा कामना गराएका थिए। यसैबीच सदरमुकाम तौलिहवास्थित घरमा राखिएको ताजियालाई तौलिहवा बजारमा परिक्रमा गरी कपिलवस्तु नगरपालिका–२ स्थित कर्बलामा विसर्जन गरिएको थियो।
सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए। मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका–२ मस्जिद टोलमा बस्ने मुस्लिमहरूले सर्वत, फलफूल लगायतका परिकार वितरण गरेका थिए।
इस्लाम धर्मका प्रवर्तक इमाम हुसैनको सम्झनामा यो पर्व मनाइन्छ। १४ सय वर्ष पहिले इमाम हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन्।
यजिद नामक शासकविरुद्ध युद्धका क्रममा शहादत प्राप्त गरेका थिए। अरब देशको क्यालेन्डर अनुसार १० मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी संवतको १ देखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलानाहरू बताउँछन्।
मुहर्रमको १० औँ तारिखलाई आशुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रुफ अहमद खाँले बताए।
यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडा सहितका परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ। साथै मुहर्रमका दिन तरवार, लाठी नचाएर साहसिक प्रदर्शन समेत गरिन्छ। घरमा पूजा गरी राखिएको ताजियालाई मुहर्रमका दिन कर्बलामा लगेर विसर्जन गरिन्छ।
यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ६ पालिकाले स्थानीय बिदा दिएका थिए।







१२ असार , २,०८३