नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी सह्य नहुने चेतावनी दिएका छन्।
प्रथम राष्ट्रिय महाधिवेशनको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा गुटबन्दी गर्नेहरूलाई कारबाही गर्ने बताए।
सम्बोधनका क्रममा आन्तरिक एकतामा जोड दिँदै सभापति लामिछानेले भने, ‘यो पार्टीमा गुटबन्दीका लागि कुनै ठाउँ छैन। यदि कसैले पार्टीभित्र गुटको बिउ रोपेको रहेछ भने म त्यसलाई जरैदेखि उखेलेर फाल्छु।’
उनले रास्वपा परम्परागत दलहरूभन्दा फरक चरित्रको पार्टी भएकाले यहाँ अस्वस्थ समूहबन्दी अस्वीकार्य हुने बताए।
लामिछानेले ऐतिहासिक प्रथम महाधिवेशनले रास्वपालाई औपचारिक रूपमा बलियो राजनीतिक दलका रूपमा वैधानिकता प्रदान गरेको उनको भनाइ थियो। नयाँ दल भएका कारण संगठन सञ्चालन र महाधिवेशनका क्रममा केही कमजोरी र प्राविधिक त्रुटिहरू हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उनले त्यसका लागि महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्ताहरूसँग क्षमायाचना गरे।
फरक–फरक पृष्ठभूमि र विचार बोकेका मानिसहरू एउटै उद्देश्यका लागि रास्वपामा गोलबद्ध भएको भन्दै उनले आगामी दिनमा अझ धेरै चुनौतीहरूको सामना गर्नुपर्ने बताए।
‘हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौँ,’ लामिछानेले कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘त्यसैले हामीले विभिन्न युगका र सबै प्रकारका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ।’
उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने प्रतिनिधि, नेता, कार्यकर्ता, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार प्रकट गरे। महाधिवेशनबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै रास्वपालाई आगामी दिनमा थप परिपक्व, व्यवस्थित र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे।







१२ असार , २,०८३