नोटिफाई नेपालLoading...



१) मुक्तक
हजुरबाको इज्जत थियो असल इमानदारले
बाउआमाको इज्जत बढ्यो महल रवाफ कारले
यौटै परिवारको पनि इज्जत फरकफरक
सन्तानको मान एसइइको झन् जिपिए चारले।
२) मुक्तक
राज्य समाज उमेरले नै वृद्ध व्यक्ति गनिसक्यो
प्रमाणपत्र अनावश्यक अब हुन्छन् भनिसक्यो
मेरा कागज बिगारेर चुस्न खोज्थ्यौ कुनै जुका
गर्न छोडे भयो आशा पेन्सन पट्टा बनिसक्यो।
३) मुक्तक
खाना दिन्छिन् लुगा धुन्छिन् माया गरे जस्तो लाग्छ
हिँड्दा हेरिरन्छिन् रुन्छिन् माया गरे जस्तै लाग्छ
बाहिरी संसार हेर्ने मेरो जस्तै इच्छा हुन्छ क्यारे
आँखा छली बाहिरै हुन्छिन् अनि कस्तो कस्तो लाग्छ।
४) मुक्तक
बाहुलाले सिँघान पुछ्दा ठिकै जस्तो लाग्थ्यो
फोहोर हातले खाना मुछ्दा ठिकै जस्तो लाग्थ्यो
लाज डर ईर्ष्या रिस घिन बाल्यकालमा शून्य थिए
कन्सिरी कान सरले लुछ्दा ठिकै जस्तो लाग्थ्यो।
५) मुक्तक
जोर कलश द्वारमा राखी दुबोले जल अचाउँछन्
दुखीलाई ठगी ज्याला काममा यी नचाउँछन्
वृद्ध मातापिता मर्छन् उपचार नपाउँदा
धन सञ्चयका खातिर वृद्ध भत्ता बचाउँछन्।








१ जेठ , २,०८३