नोटिफाई नेपालLoading...



हास्य कलाकार जितु नेपाल (मुन्द्रे) आफ्नो अभिनयमार्फत टेलिभिजन तथा चलचित्र उद्योगमा फरक पहिचान बनाउन सफल भएका छन्। टेलिसिरियलबाट चलचित्र उद्योगमा प्रवेश गरेका नेपाल हाल चलचित्रमा हास्य कलाकारदेखि मुख्य पात्रका रूपमा देखिने गरेका छन्। उनको टेलिसिरियल ‘जिरे खुर्सानी’ मा मुन्द्रेको पात्र दर्शकमाझ यति लोकप्रिय भयो कि आजसम्म पनि दर्शक उनलाई मुन्द्रेकै उपनामले चिन्ने गर्छन्। यो भन्दैमा उनी अन्य पात्रमा नसुहाएका भने पक्कै होइनन्। ‘दर्पण छाया’, ‘छक्का पञ्जा’ र ‘छ माया छपक्कै’ लगायतका चलचित्रमा पनि उनको निकै राम्रो काम देखिएको छ।
हाल उनी चलचित्र निर्माणमा समेत सक्रिय भएका छन्। उनले यसअघि पनि चलचित्रमा लगानी नगरेका होइनन्, तर ‘आइ एम जीतबहादुर’ उनको एकल निर्माण रहेको चलचित्र हो। उनी निर्मित चलचित्र ‘आइ एम जीतबहादुर’ अहिले सिनेमा घरमा प्रदर्शनरत छ। उनीसँग नागरिककर्मी अमृता कुशवाहले गरेको कुराकानीका केही सम्पादित अंशः
- ‘आइ एम जीतबहादुर’ तपाईंको जीवनमा आधारित रहेको बताइएको छ। तपाईंले यसलाई कसरी लिनुभएको छ ?
पूर्ण रूपमा मेरो जीवनमा आधारित चलचित्र होइन। यो कलाकारको संघर्षको कथा हो। एउटा गाउँबाट सहर आएर सफल हुनका लागि गरिने संघर्षको कथा हो। धेरै मानिसमा यो चलचित्र मेरो बायोपिक हो भन्ने बुझाइ छ। तर यो मेरो मात्र होइन, केही मेरो जीवनसँग मिल्छ भने केही अन्य कलाकारको जीवनसँग पनि मेल खान्छ।
- तपाईंलाई निर्माण क्षेत्रमा आउन कसले प्रेरित गर्यो ?
यो चलचित्र बनाउन मलाई भारतीय बंगाली निर्देशक सुभेन्दु घोषजीले प्रेरित गर्नुभएको हो। एउटा अनुभवी निर्देशकसँग चलचित्र बनाउँदा केही नयाँपन आउला र केही नयाँ कुरा निस्केला भन्ने मेरो बुझाइ हो।
- भारतीय निर्देशकसँग काम गर्दा भाषाको कतिको समस्या आयो ?
उहाँ बंगाली हुनुहुन्छ तर हिन्दी बोल्नुहुन्थ्यो। हिन्दीमा त हामी नेपाली पोख्त नै छौँ। कामका क्रममा हिन्दी नै बढी बोलिन्छ। त्यसैले भाषामा खासै समस्या आएन।
- चलचित्रको प्रतिक्रिया कस्तो आइरहेको छ ?
अहिले फुटबलको समय चलिरहेको छ, जसका कारण व्यावसायिक रूपमा प्रभाव केही न्यून देखिएको छ। यो हामीले स्वीकार्नै पर्छ। यद्यपि दर्शकको प्रतिक्रिया भने राम्रो आइरहेको छ। तर सिनेमा राम्रो हुँदा पनि किन यसले अपेक्षाअनुसार व्यापार गर्न सकेन भन्ने प्रश्न मेरो मनमा उठेको छ। तथापि हरेक चलचित्रले व्यापारिक सफलता प्राप्त नगरे पनि त्यसको आफ्नै टेस्ट हुन्छ, र यो फरक टेस्ट भएको चलचित्र हो। एउटा कलाकारको जीवनीसँग जोडिएको सिनेमा भएकाले मैले जे काम गरेँ, त्यो मेरो लागि एउटा महत्वपूर्ण अनुभव बनेको छ — ‘आइ एम जीतबहादुर’।







१२ असार , २,०८३