नोटिफाई नेपालLoading...



झापामा क्रियाशील विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनले साइबर अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ प्रक्रियामा ढिलासुस्ती गरेको आरोप लगाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा हल्दिबारी गाउँपालिका–१ निवासी नितेश ओली (नवराज) विरुद्ध जिल्ला अदालतबाट २०८३ असार १५ गते पक्राउ पुर्जी जारी भइसके पनि हालसम्म पक्राउ नपरेको उल्लेख गरिएको छ।
पत्रकार संगठनहरूका अनुसार पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारी तथा सक्रिय पत्रकारलाई लक्षित गरी भ्रामक सामग्री प्रकाशन गर्ने, चरित्रहत्या गर्ने तथा ज्यान मार्ने धम्कीसमेत दिने गतिविधि भइरहेको छ। यस्ता गतिविधिले पत्रकारहरूको सुरक्षामाथि चुनौती सिर्जना गरेको र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा पत्रकारिता पेशामा संलग्न नरहेका ओलीले पत्रकारिताको आवरण प्रयोग गरी विभिन्न व्यक्तिलाई दुःख दिने गतिविधि गरेको आरोप पनि लगाइएको छ। यस विषयमा सम्बन्धित निकायमा उजुरी परेपछि उनलाई सचेत गराइएको भए पनि त्यसपछि पत्रकारविरुद्ध तथ्यहीन, भ्रामक तथा कपोलकल्पित सामग्री सामाजिक सञ्जालमा राख्दै मानमर्दन गरिरहेको दाबी गरिएको छ।
यस सम्बन्धमा साइबर अपराध कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता गरिएको र अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पनि अभियुक्तलाई पक्राउ गर्न नसकिएको भन्दै पत्रकार संगठनहरूले प्रहरी प्रशासनको कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाएका छन्। पत्रकार महासंघले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण पटक–पटक गराउँदा पनि अपेक्षित पहल नभएको उनीहरूको गुनासो छ।
पत्रकार संगठनहरूले फरार अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन, सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा धम्कीपूर्ण गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न सरकार तथा सुरक्षा निकायसँग माग गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, फोनिज झापा, नारी सञ्चार गृह, खेलकुद पत्रकार संघ झापा, फोटो पत्रकार संघ झापा, नेपाल चलचित्र पत्रकार संघ, पर्यटन पत्रकार संघ तथा स्वतन्त्र पत्रकार संघ लगायतका पत्रकार संगठनहरूको समर्थन रहेको छ।







२० श्रावण , २,०८३