नोटिफाई नेपालLoading...



झिलिमिली बत्तीले कहिल्यै नसुत्ने सहर। जहाँ रातको शान्ति अब मोबाइलको नोटिफिकेसनले तोडिरहेको हुन्छ। जहाँ एउटै घरभित्र चारजना सँगै बस्छन् तर चारै जनाको संसार फरक हुन्छ। आज मानिसहरू घरमा छन् तर सम्बन्धमा छैनन्। आमाबुबा सँगै छन् तर छोराछोरी उनीहरूसँग छैनन् किनकि अहिले मोबाइलले समय मात्र होइन– मानिसको भावना, सम्बन्ध र आत्मा नै कब्जा गर्न थालेको छ।
त्यही सहरको एउटा मध्यमवर्गीय घरमा बस्थी २४ वर्षीया वर्षा। वर्षा पहिले धेरै फरक थिई, हँसिली थिई, सानो कुरामा खुसी हुन्थी। आमासँग भान्सामा बसेर चिया पिउँदै जीवनका कुरा गर्थी। बुबासँग साँझ छतमा बसेर तारा गन्थी। पानी परेको बेला झ्याल खोलेर गीत सुन्न मन पराउँथी। उसलाई वास्तविक संसार मन पथ्र्यो। उसले डायरीमा कविता लेख्थी।
सपना देख्थी। जीवनलाई महसुस गर्थी तर समयसँगै उसको जीवनमा एउटा सानो वस्तु प्रवेश गर्यो– मोबाइल। पहिले त्यो मनोरञ्जन थियो, पछि बानी र बिस्तारै लत।
फेसबुकबाट सुरु भएको त्यो यात्रा टिकटक, इन्स्टाग्राम, रिल, लाइभ र अन्त्यहीन स्क्रोलसम्म पुग्यो। अब ऊ बिहान आँखा खुल्नासाथ मोबाइल खोज्थी। राति मोबाइल हेर्दाहेर्दै निदाउँथी। उसको दिन अब सूर्यले होइन, नोटिफिकेसनले सुरु हुन्थ्यो।
आमाले बनाएको खाना चिसो हुन्थ्यो। बुबाले बोलेका कुरा अधुरै हराउँथे तर मोबाइलको स्क्रिन कहिल्यै बन्द हुँदैनथ्यो।
‘वर्षा, छोरी! अलिकति हामीसँग पनि बस न,’ आमाले धेरै मायाले भन्नुहुन्थ्यो।
‘एकछिन ममी...’
उही जवाफ। त्यो ‘एकछिन’ दिन बित्दा पनि आएन। महिना बित्दा पनि आएन।
बुबाले कहिलेकाहीं चुपचाप उसलाई हेर्नुहुन्थ्यो। त्यो नजरमा रिस थिएन, पीडा थियो।
‘हामीसँग बस्दा पनि तिमी हामीसँग छैनौ वर्षा!’ तर वर्षालाई लाग्थ्यो– ‘यो आधुनिक समय हो। सबै यस्तै छन्।’
ऊ दिनभर अरूको जीवन हेर्थी। कसैले विदेशको फोटो राखेको हुन्थ्यो, कसैले प्रेमको प्रदर्शन, कसैले करोडौंको गाडी, कसैले विलासी जीवन। बिस्तारै उसले आफ्नो जीवनलाई अरूसँग तुलना गर्न थाली। उसलाई आफ्नो घर सानो लाग्न थाल्यो। आफ्ना बुबाआमा साधारण लाग्न थाले। आफ्नो जीवन अधुरो लाग्न थाल्यो।
मोबाइलमा ऊ धेरै हाँस्थी तर वास्तविक जीवनमा मुस्कुराउन बिर्सिसकेकी थिई। राति ऊ चुपचाप रोइरहन्थी तर बिहान स्टाटस राख्थी – पर्फेक्ट लाइफ।
झुटो मुस्कानभित्र उसको मानसिक अवस्था चिच्याइरहेको थियो।
उसले खाना कम खान थाली । निद्रा हरायो। परिवारसँग कुरा गर्न छोडी। ऊ एउटै घरभित्र बसेर पनि पूर्ण रूपमा एक्लो भइसकेकी थिई। यो अवस्था कसैले बुझेन किनकि अहिले समाजले मानिसको मन होइन, प्रोफाइल पिक्चर हेर्छ।
एकदिन उसकी आमाले उसको कोठामा आएर बिस्तारै भनिन्– ‘छोरी! तिमी पहिलेजस्ती छैनौ। तिम्रो अनुहार हेर्दा डर लाग्न थालेको छ।’
वर्षा झर्किंदै बोलिन्– ‘ममी प्लिज ! तपाईंहरू पुरानो सोचको हुनुहुन्छ।’ त्यो दिन आमाको आँखामा गहिरो चोट थियो तर वर्षाले देखिन।
केही महिनापछि बुबाको व्यापार डुब्न थाल्यो। घरमा आर्थिक समस्या बढ्यो । ऋण बढ्न थाल्यो। घरभित्र तनाव बढ्न थाल्यो। वर्षाको सबैभन्दा ठुलो चिन्ता थियो– उसको पोस्टमा लाइक किन कम आयो।
कसैले उसको फोटो इग्नोर गर्यो भने ऊ रातभर बेचैन हुन्थी। कसैले कमेन्ट नगर्दा उसको आत्मविश्वास टुट्थ्यो। बिस्तारै ऊ एन्जाइटी र डिप्रेसनतिर धकेलिँदै गइरहेकी थिई तर उसलाई आफू बिरामी भएको महसुस पनि थिएन।
एक रात अचानक उसकी आमालाई सास फेर्न गाह्रो भयो। रक्तचाप अत्यन्त बढ्यो। बुबा आत्तिनुभयो। रातको १ बजे एम्बुलेन्स बोलाइयो। घरभर डर फैलिएको थियो। एम्बुलेन्सको साइरनले पूरै टोल ब्युँझियो।
तर वर्षा...
ऊ अझै मोबाइलमै थिई। उसले एम्बुलेन्सभित्र बसेर भिडियो बनाई– प्रे फर माई मम।
त्यो भिडियो भाइरल भयो। हजारौं भ्युज आए, स्याड इमोजी आए, कमेन्ट आए– स्टे स्ट्रङ।
अस्पतालको बेडमा पल्टिएकी आमाले आँखा खोल्दै बिस्तारै सोध्नुभयो– ‘मेरो छोरी कहाँ छ?’ वर्षा त्यहीं छेउमा थिई तर ऊ वास्तवमा आमासँग थिइन।
आमाले काँपेको हातले उसको हात समाउन खोज्यो तर वर्षाको हात मोबाइल समात्न व्यस्त थियो। त्यो क्षण सायद एउटी आमाको मन पहिलोपटक आफ्नै छोरीसँग हारिरहेको थियो।
केही दिनपछि बाल्यकालको साथी आकाश उसलाई भेट्न आयो। ऊ वर्षालाई हेरेर डरायो। आँखामुनि गहिरो कालो घेरा, अनुहारमा थकान, मनभित्र असह्य खालीपन। ऊ जिउँदो देखिन्थी तर भित्रभित्रै समाप्त भइसकेकी थिई।
आकाशले अचानक उसको मोबाइल बन्द गरिदियो।
‘के गरेको?’ वर्षा कराई।
आकाशको स्वर भारी थियो– ‘होसमा आऊ वर्षा। तिमी बिस्तारै हराइरहेकी छौ।’
कोठा एकछिन पूर्ण शान्त भयो।
आकाश फेरि बोल्यो– ‘तिमीलाई थाहा छ? अहिले तिमीसँग हजारौं फलोअर्स छन् तर तिमी साँच्चै रोएको बेला तिम्रो हात समाउने कति जना छन्?’
वर्षाको आँखा भरिन थाल्यो।
‘अन्तिमपटक कहिले आफ्नी आमाको अनुहार ध्यान दिएर हेरेकी थियौ? कहिले बुबाको थकान महसुस गरेकी थियौ ?’ उत्तर थिएन।
आकाशको अन्तिम वाक्यले उसको आत्मा नै चिरिदियो– ‘हामी अहिले स्क्रिन धेरै हेर्छौं वर्षा तर भावना कसैले पढ्दैन। हामी अनलाइन धेरै छौं तर जीवनसँग अफलाइन भइसकेका छौं।’
त्यो रात वर्षाले पहिलोपटक मोबाइल बन्द गरी। कोठा असाध्यै सुनसान लाग्यो। पहिलोपटक उसलाई आफ्नै एक्लोपनको आवाज सुनियो। उसले झ्याल खोली। बाहिर भारी पानी परिरहेको थियो।
अचानक उसलाई बाल्यकाल याद आयो । ऊ यही पानीमा रमाउँथी। आमाले कराउँदै भित्र बोलाउनुहुन्थ्यो। बुबाले हाँस्दै तौलिया ल्याइदिनुहुन्थ्यो । त्यो विगत सम्झँदा उसको मुटु च्यातिन थाल्यो।
उसले पुरानो फोटो अल्बम निकाली। त्यहाँ एउटी सानी वर्षा थिई– निर्दोष, खुसी, सत्य।
ऊ आफूलाई हेरेर चिच्याएर रोई किनकि उसले महसुस गरिसकेकी थिई– उसले संसार खोज्ने क्रममा आफ्नै जीवन गुमाइसकेकी रहिछ।
बिस्तारै ऊ आमाको कोठामा गई। आमा कमजोर थिइन् तर छोरी देख्नेबित्तिकै मुस्कुराउन खोजिन्।
वर्षाले पहिलोपटक मोबाइल टाढा राखेर आमाको हात समाती र रुँदै भनी– ‘आमा! म धेरै टाढा हराएँछु।’
आमाले काँपेको स्वरमा भन्नुभयो– ‘तिमी फर्किएकी छौ छोरी। अझै ढिलो भएको छैन।’
त्यो रात वर्षा धेरै रोई।
त्यो आँसु केवल एउटा छोरीको थिएन। त्यो आँसु थियो– मोबाइलको उज्यालोभित्र अन्धकार बन्दै गएको एउटा पुस्ताको।
आज समाजमा हजारौं वर्षा छन्। हामी बिहान उठ्नेबित्तिकै मोबाइल खोज्छौं, खाना खाँदा मोबाइल। परिवारसँग बस्दा मोबाइल, सुत्नुअघि मोबाइल।
हामी संसारलाई आफ्नो जीवन देखाउन व्यस्त छौं तर आफ्ना मानिसहरूको जीवन बुझ्न बिर्सिरहेका छौं। आज मानिससँग हजारौं फलोअर्स छन् तर मन खोलेर सुन्ने एउटा आफ्नै मान्छे छैन। सायद अब समय आएको छ– मोबाइलको समय घटाएर जीवनको वास्तविक समय बचाउने। किनकि, एकदिन सायद धेरै ढिलो हुनेछ र हाम्रो आफ्नै मान्छेले पठाएको अन्तिम म्यासेजमा केवल ‘सिन’ मात्र बाँकी रहनेछ।






२२ जेठ , २,०८३