नोटिफाई नेपालLoading...



आज नेपाली समाज यस्तो विकृत व्यवहार, बालयौनहिंसा र सामाजिक चेतनाको संकटमा परेको छ, जसको सुधारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने देखिएको छ। समाजमा पछिल्ला दिनमा देखिने केही जघन्य हिंसात्मक घटनाले हरेक संवेदनशील नागरिकको मनमा एउटै प्रश्न उठाउँछ– हाम्रो समाज कता जाँदै छ? साना–साना बालिकामाथि हुने यौनहिंसा अनि बलात्कारपछि हत्या हुने, बालबालिका आफ्नै समाजमा चिनेजानेका वा विश्वास गरिएका व्यक्तिबाट असुरक्षित हुनेजस्ता घटनाले हाम्रो सामाजिक चेतनाको गहिरो संकटलाई उजागर गरिरहेका छन्। यस्ता घटनाले केवल एउटा परिवारलाई मात्र पीडा दिँदैनन्, सम्पूर्ण समाजको सुरक्षा, संस्कार, पारिवारिक सम्बन्ध, कानुनी शासन र मानवीय संवेदनामाथि प्रश्न उठाएको छ।
छोरीलाई मात्र सावधान गराएर समाज सुरक्षित नहुने रहेछ
हाम्रो समाजमा बालिकालाई सानैदेखि भनिन्छ– एक्लै नहिँड, अपरिचितसँग कुरा नगर, राति बाहिर नजाऊ, आफ्नो शरीर ढाकेर हिँड, सावधान होऊ। अब त साना दुधे बालिकालाई समेत घरबाहिर खेल्न पठाउन डर भयो। हालसालै, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई हेर्दा प्रत्येक कदममा सावधानी आवश्यक देखियो तर प्रश्न यो हो–किन सुरक्षाको सम्पूर्ण जिम्मेवारी छोरीको काँधमा मात्र राख्ने ? छोरीलाई आफ्नो शरीरको सम्मान गर्न सिकाउनु जति आवश्यक छ, छोरालाई अरूको शरीरमाथि उसको अनुमतिबिना कुनै अधिकार हुँदैन भन्ने सिकाउनु त्यत्तिकै आवश्यक छ। छोरीलाई ‘होइन’ भन्न सिकाउनुपर्छ भने छोरालाई पनि अरूले ‘होइन’ भनेपछि त्यसको सम्मान गर्न सिकाउनुपर्छ। छोरीलाई असहज व्यवहार चिन्न सिकाउनुपर्छ भने छोरालाई आफ्नो इच्छा, रिस, यौन जिज्ञासा र शक्तिलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्न सिकाउनुपर्छ। अब प्रत्येक अभिभावक र समाजलाई जिम्मेवारी थपिएको छ– छोरीलाई सुरक्षित राख्ने संस्कार मात्र होइन, छोरालाई सुरक्षित समाज निर्माण गर्ने संस्कार पनि दिनुपर्छ।
हिंसा अचानक जन्मिँदैन
कुनै व्यक्ति एकैदिन हिंस्रक बन्दैन। हिंसात्मक व्यवहारपछाडि परिवार, वातावरण, सिकाइ, संगत, सामाजिक मान्यता, डिजिटल सामग्री, शक्ति–सम्बन्ध, लैंगिक सोच र भावनात्मक असन्तुलनका विभिन्न तह सक्छन्। सानैदेखि ‘छोराले जे पनि गर्न सक्छ’, ‘छोरीभन्दा छोरा बलियो हो’, ‘पुरुषले आफ्नो कुरा मनाउनैपर्छ’जस्ता गलत धारणाले बच्चाको मनोविज्ञानमा प्रभाव पार्न सक्छन्। त्यसैले बालबालिकालाई केवल पढाइ र करियरको तयारी गराएर पुग्दैन। उनीहरूलाई सहमति, सम्मान, करुणा, आत्मसंयम, लैंगिक समानता, डिजिटल जिम्मेवारी, भावनात्मक बुद्धिमत्ता र अहिंसात्मक संवाद पनि सिकाउनुपर्छ।
घर नै पहिलो विद्यालय हो
घरमा के सिकाउने ? बालबालिकासँग यौन हिंसाका घटना घटेपछि मात्र कुरा गर्ने होइन। सामान्य अवस्थामा नै उमेरअनुसार शरीर, व्यक्तिगत सीमा, सुरक्षित र असुरक्षित स्पर्श, गोपनीयता, विश्वास, सहमति र सहयोग माग्ने तरिकाबारे संवाद गर्नुपर्छ। तर एउटा महŒवपूर्ण कुरा– बाल संरक्षणको शिक्षा डर पैदा गर्ने शैलीमा होइन, आत्मविश्वास पैदा गर्ने शैलीमा हुनुपर्छ। बालबालिकाले यस्तो महसुस गर्नुपर्छ– ‘मेरो शरीर मेरो हो’, ‘मलाई असहज लागेमा ‘होइन’ भन्न सक्छु’, ‘कसैले धम्क्याए पनि विश्वासिलो वयस्कलाई भन्न सक्छु’, ‘मलाई दोष दिइने छैन’। त्यसैगरी छोराछोरी दुवैलाई सिकाउनुपर्ने भयो– ‘अरूको शरीर र व्यक्तिगत सीमाको सम्मान गर्नुपर्छ’, ‘कसैको मौनतालाई सहमति मान्न हुँदैन’, ‘प्रेम, मित्रता वा आकर्षणले हिंसा गर्ने अधिकार दिँदैन’, ‘शक्ति भनेको अरूलाई नियन्त्रण गर्नु होइन, आफूलाई नियन्त्रण गर्न सक्नु हो’। यस्ता विषय पाठ्यक्रममै राखेर पढाउनुपर्छ।
डिजिटल संसार पनि नयाँ चुनौती
आजका बालबालिका मोबाइल, सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म र इन्टरनेटसँग हुर्किरहेका छन्। त्यसैले बाल संरक्षण अब घरको ढोका र विद्यालयको गेटभित्र मात्र सीमित छैन। अनलाइनमा आउने अश्लील वा हिंसात्मक सामग्री, साइबर बुलिङ, अपरिचित व्यक्तिसँगको सम्पर्क, निजी तस्बिर वा भिडियो माग्ने व्यवहार, धम्की तथा डिजिटल ब्ल्याकमेलजस्ता जोखिमबारे अभिभावक र शिक्षक स्वयं पनि सचेत हुनुपर्ने छ तर यसको समाधान केवल मोबाइल खोस्नु होइन। डिजिटल अनुशासन, डिजिटल साक्षरता र अभिभावकीय संवाद आवश्यक छ। बालबालिकाले अनलाइनमा केही असहज वा शंकास्पद कुरा देखेमा लुकाउनुपर्ने होइन, अभिभावकलाई भन्न सक्ने वातावरण बनाउनुपर्छ।
गोपनीयता किन आवश्यक छ?
पीडित बालिकाको नाम, फोटो, विद्यालय, घरको ठेगाना वा पहिचान खुल्ने विवरण सार्वजनिक गर्नु न्याय होइन। अपराधीलाई सजाय दिलाउनु आवश्यक छ तर पीडितलाई दोस्रोपटक सामाजिक सजाय दिनुहुँदैन। विभिन्न संस्थाले प्रकाशन गरेका बालबालिकासम्बन्धी पत्रकारिता मार्गदर्शनले पनि बालबालिकाको गरिमा, गोपनीयता र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने तथा समाचार वा तस्बिरले बालबालिकालाई थप जोखिममा पार्न सक्ने भए प्रकाशित नगर्नुपर्ने बताउँछ। यसैले पत्रकार, प्रहरी, शिक्षक, अभिभावक र सामाजिक अभियन्ता सबैले एउटा मूल सिद्धान्त आत्मसात गर्नुपर्छ–अपराधको सत्य बाहिर ल्याऔं तर पीडित बालबालिकाको पहिचान होइन।
घटना भएपछि मात्र होइन, अघि पनि सक्रिय
बालबालिकाको सुरक्षा केवल अपराध भएपछि अनुसन्धान गर्ने विषय होइन। रोकथाम अझ महŒवपूर्ण हो। प्रहरी, स्थानीय सरकार, विद्यालय, बाल संरक्षण समिति, स्वास्थ्य संस्था र समुदायबिच प्रभावकारी समन्वय आवश्यक छ। बालबालिकाले गुनासो गर्दा ‘त्यो त सानो कुरा हो’ भनेर बेवास्ता गर्नुहुँदैन। कुनै व्यक्तिको असामान्य व्यवहार, धम्की, पछ्याउने व्यवहार, अनुचित स्पर्श, अश्लील सन्देश वा बालबालिकालाई एकान्तमा लैजाने प्रयासजस्ता संकेतलाई गम्भीर रूपमा लिनुपर्छ। साना संकेतलाई बेवास्ता गर्दा ठुलो दुर्घटना हुन सक्छ।
विद्यालयमा परीक्षा मात्र होइन, जीवन शिक्षा पनि जरूरी
हाम्रो शिक्षा प्रणालीमा बालबालिकाले गणित, विज्ञान, भाषा र सामाजिक अध्ययन सिक्छन् तर उनीहरूले आफ्नो भावना कसरी व्यक्त गर्ने, रिस कसरी व्यवस्थापन गर्ने, अस्वीकारलाई कसरी स्वीकार गर्ने, लैंगिक सम्मान के हो, सहमति के हो, हिंसा के हो र हिंसा देखेपछि के गर्ने भन्ने पर्याप्त रूपमा सिकिरहेका छन् कि छैनन्? अब विद्यालयमा जीवन जिउने सिप, भावना बुझ्ने बुद्धिमत्ता, सबैप्रति सम्मान, आफ्नो सुरक्षा गर्ने चेतना, डिजिटल संसारमा सुरक्षित रहने ज्ञान र हिंसाबिना संवाद गर्ने संस्कार सिकाऔं र यस्ता विषयलाई व्यावहारिक रूपमा पढाउनुपर्छ। अभिभावकले पनि आफ्ना छोरासँग अनुशासन र मर्यादाका कुरा गर्नुपर्छ। हामीमध्ये धेरै अभिभावक छोरीसँग सुरक्षा र मर्यादाबारे कुरा गर्छौं तर छोरासँग यौनिकता, सहमति, महिलाप्रतिको सम्मान, डिजिटल सामग्री र हिंसात्मक व्यवहारबारे कुरा गर्न अप्ठ्यारो मान्छौं। अब त्यो मौनता तोड्नुपर्छ।
दोषारोपण गर्नु नपरोस् र सामूहिक जिम्मेवारी महसुस होस्
बालयौनहिंसाको घटना हुँदा हामी कहिले अभिभावकलाई दोष, कहिले प्रहरीलाई र कहिले सरकारलाई अनि कहिले मिडियालाई दोषारोपण गर्नुपरेको छ। सबै निकायको जिम्मेवारी हुन्छ। तर समाज परिवर्तनका लागि दोषारोपणभन्दा सामूहिक जिम्मेवारी आवश्यक छ। त्यसको लागि परिवारले संस्कार दिनुपर्छ।
विद्यालयले जीवन–सिप दिनुपर्छ। समुदायले निगरानी र सहयोग दिनुपर्छ। प्रहरीले कानुनी सुरक्षा दिनुपर्छ। न्याय प्रणालीले शीघ्र र पीडितमैत्री न्याय दिनुपर्छ। मिडियाले जिम्मेवार सूचना दिनुपर्छ। राज्यले प्रभावकारी नीति, स्रोत र कार्यान्वयन सुनिश्चित गर्नुपर्छ। नागरिक मौन दर्शक भएर बस्नु हुँदैन।
घरघरबाट सुरु होस् चेतना अभियान। अब समय आएको छ– बालबालिकाको सुरक्षासम्बन्धी चेतना कुनै एक दिन मनाइने दिवस वा कार्यक्रममा सीमित नरहोस्। हरेक घरमा संवाद होस्। हरेक विद्यालयमा अभ्यास होस्। हरेक टोलमा चेतना होस्। हरेक मिडियामा जिम्मेवारी होस्। हरेक प्रहरी कार्यालयमा बालमैत्री व्यवहार होस् र हरेक छोराले सिकून्– ‘महिला र बालिका सम्मानका विषय हुन्, मेरो अधिकारका वस्तु होइनन्।’ हरेक छोरीले सिकून्– ‘म कमजोर छैन। मेरो आवाज महत्त्वपूर्ण छ। मलाई असुरक्षित लागेमा बोल्ने अधिकार छ।’ हरेक अभिभावकले बुझून्–‘बालबालिकाको सुरक्षा डरले होइन, विश्वास र संवादले बलियो हुन्छ।’








१० भदौ , २,०८३