नोटिफाई नेपालLoading...



नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले व्यक्तिवादी चिन्तन त्यागेर देशको बारेमा सोच्न सके मात्र मुलुकको विकास सम्भव हुने बताएकी छन्।
नेपाल रिपब्लिक मिडियाको स्थापना दिवसको अवसरमा आयोजित ‘नागरिक नायक’ घोषणा सभामा बोल्दै उनले देश सुधार्नका लागि पहिले हरेक व्यक्तिले आफ्नै चरित्र र आचरण सुधार्नुपर्नेमा जोड दिएकी हुन्।
नेपाली समाजमा ‘मै खाऊँ, मै लाऊँ’ भन्ने स्वार्थी प्रवृत्ति हावी भएको उल्लेख गर्दै उनले यसैकारण मुलुक पछि परेको बताइन्। कविशिरोमणि लेखनाथ पौड्यालको कविताको अंश स्मरण गर्दै उनले भनिन्, ‘कविवरले उहिल्यै लेख्नुभएको थियो, ‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरुँ... अरु सब मरुन् दुर्बलहरू...’ हाम्रो चरित्र त्यही रहेछ र त उहाँले त्यतिबेलै त्यो कुरा थाहा पाएर लेख्नुभयो। अब हामीले आफ्नो यही स्वभाव र चरित्रलाई सुधार्नुपर्छ।’
कार्कीले समग्र मुलुकको विकासभन्दा पनि व्यक्तिवादी चिन्तन समाजमा जरा गाडेर बसेकोप्रति चिन्ता व्यक्त गरिन्। कसैले राम्रो काम गर्न खोजे पनि प्रोत्साहन गर्नुको साटो अदालतमा मुद्दा हाल्ने, पत्रपत्रिकामा लेखेर चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्तिले विकासमा अवरोध पुर्याएको उनको भनाइ छ।
उनले थपिन्, ‘हामी समग्र मुलुकको विकासतिर सोच्दैनौं, हामीसँग धेरै व्यक्तिवादी चिन्तन छ। छिट्टै सबै कुराको आश गर्ने तर अलिकति पनि परिश्रम नगर्ने अनि होस्टेमा हैंसे नगर्ने हाम्रो मुख्य कमजोरी हो।’
यही व्यक्तिवादी र स्वार्थी सोच राजनीतिमा पनि प्रतिविम्बित भएको उनले सुनाइन्। चुनाव जितेर सत्तामा पुगेपछि सरकार सिङ्गो देश र जनताको हुनुपर्नेमा आफ्ना पार्टीका कार्यकर्ता र आसेपासेलाई मात्र पोस्ने प्रवृत्तिले देश बर्बाद भएको उनले औंल्याइन्।
देश बनाउने हो भने हरेक नागरिक र नेतृत्वले आत्मालोचना गर्दै आफूलाई सुधार्ने अठोट गर्नुपर्ने उनको निष्कर्ष छ। ‘पहिलो कुरा त आफैंलाई सुधार्नुपर्यो,’ कार्कीले अगाडि भनिन्, ‘आलोचना मात्रै बढी गर्ने, काम नगर्ने र सधैँ अरूको भर पर्ने बानी त्यागेर आफू होइन देश भन्ने भावनाको विकास गर्नुपर्छ। जबसम्म हामी आफैँ सुध्रिँदैनौँ, तबसम्म देश सुध्रिँदैन।’
नेपाल रिपब्लिक मिडियाकी निर्देशक सम्वृद्धि ज्ञवालीसँगको कुराकानीका क्रममा कार्कीले देशको गिर्दो अवस्थालाई उकास्न सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याइन्।








१३ बैशाख , २,०८३