नोटिफाई नेपालLoading...



देश संघीय संरचनामा गएपछि प्रादेशिक विश्वविद्यालयको अवधारणाअनुसार बागमती प्रदेश सरकारले हेटौडामा स्थापना गरेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउन थालेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले संघीय सरकारबाट आवश्यक आर्थिक सहयोग नआएकाले यस्तो अवस्था सिर्जना हुन थालेको बताए ।
बागमती प्रदेशका १३ जिल्लालाई समेटेर हेटौडालाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित प्रदेश सरकारले प्रतिष्ठान ऐनमार्फत मकवानपुरको हेटौडामा यो संस्था स्थापना गरेको हो। २०७६ सालमा स्थापना भएको प्रतिष्ठानमा सुरुआती चरणमा नर्सिङ, फार्मेसी, बीपीएच र ल्याब विषयमा अध्ययन–अध्यापन सुरु गरिएको थियो। गत वर्षदेखि एमबीबीएस तथा एमडीएमएस कार्यक्रमसमेत सञ्चालनमा आएका छन्।
उपकुलपति ज्ञवालीका अनुसार चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा विद्यार्थी छनोट गरेर पठाए पनि त्यसबापत लाग्ने लागत अनुदान प्रतिष्ठानलाई उपलब्ध गराएको छैन। ‘एमबीबीएसका ५० विद्यार्थीमध्ये ७५ प्रतिशत छात्रवृत्तिमा पठाइएका छन्, तर त्यसको आर्थिक भार प्रतिष्ठानले नै व्यहोर्नुपरेको छ,’ उनले बताए।
उनले हालसम्म प्रतिष्ठानले जसोतसो व्यवस्थापन गर्दै आएको भए पनि आगामी दिनमा थप विद्यार्थीको पठनपाठन सञ्चालन गर्न गम्भीर आर्थिक चुनौती आउने निश्चित रहेको बताए।
बैशाख ११ गते बस्ने प्रतिष्ठान सभाबाट संगठन संरचना पारित गरिने र सोहीअनुसार आवश्यक जनशक्तिको दरबन्दी माग गरिने तयारी रहेको उनले जानकारी दिए।
पाँच सय शय्या पुर्याउने लक्ष्य
हाल प्रदेश सरकारअन्तर्गतको ३०० शय्याको हेटौडा अस्पतालमार्फत शिक्षण तथा सेवा दुवै सञ्चालन भइरहेको छ। आगामी दिनमा थप २०० शय्या विस्तार गरी ५०० शय्याको शिक्षण अस्पताल बनाउने योजना रहेको प्रतिष्ठानले जनाएको छ।
उपकुलपति ज्ञवालीका अनुसार बुधबारदेखि युरोलोजी ओपिडी सेवा थप गरिएको छ। आगामी दिनमा न्युरो, युरोलोजी, नेफ्रोलोजी, कार्डियोलोजी, इएनटीलगायत विशेषज्ञ सेवा विस्तार गरिनेछ।
हाल प्रतिष्ठानमा ११० जना प्राध्यापक, फ्याकल्टी तथा कर्मचारी कार्यरत छन्, जसमध्ये ७ जना मात्र स्थायी कर्मचारी छन्। करिब एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले हालसम्म प्रदेश सरकारबाट अस्पताल र कलेज सञ्चालनका लागि करिब ५३ करोड रुपैयाँ प्राप्त गरेको छ।
स्नातक तहमा बीएससी नर्सिङ, बीपीएच, बीएमएलटी र फार्मेसी कार्यक्रम सञ्चालनमा छन्। शैक्षिक सत्र ०८१/०८२ देखि एमडीएमएस अध्ययनसमेत सुरु भएको छ। गत वर्ष एमडीमा ८ विद्यार्थी थिए भने यस वर्ष ११ विषयमा २७ विद्यार्थी भर्ना भएका छन्, जसमध्ये ४ जना विदेशी विद्यार्थी छन्।
अनुदानसहित विद्यार्थी पठाउन माग
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौडा अस्पताल प्रदेश सरकारका गौरवका आयोजना भएको बताइन्।
उनले भनिन्, ‘एमबीबीएस पढाइ सुरु हुनु र चिकित्सा शिक्षा आयोगबाट ५० विद्यार्थी प्राप्त हुनु बागमती प्रदेशका लागि ठूलो उपलब्धि हो। अहिले ३०० शय्याको अस्पतालमार्फत दैनिक शल्यक्रिया, आइसियु, अर्थोपेडिक, गायनोलगायत सेवा निरन्तर भइरहेको छ।’
उनका अनुसार पहिले गम्भीर बिरामीलाई भरतपुर अस्पताल रिफर गर्नुपर्ने अवस्था रहेकामा अहिले हेटौडामै उपचार सम्भव भएको छ, जसले स्थानीयवासीमा उत्साह थपेको छ।
डा. गौतमले संघीय सरकारअन्तर्गतका मेडिकल कलेजले अनुदान पाउने भए पनि प्रदेश सरकारअन्तर्गतको यस प्रतिष्ठानले त्यस्तो सहयोग नपाएकाले भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन चुनौतीपूर्ण बन्न सक्ने बताइन्।
हाल प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि २७ करोड र शैक्षिक कार्यक्रमका लागि ३७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। तर प्रतिविद्यार्थी एमबीबीएस अध्ययनमा करिब ४६ लाख रुपैयाँ खर्च लाग्ने भएकाले संघीय सरकारले पनि अनुदानसहित विद्यार्थी पठाउनुपर्ने माग प्रतिष्ठानले गरेको छ।




-1698832414.jpg)




१५ बैशाख , २,०८३