नोटिफाई नेपालLoading...



नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल स्टार्टअप समिट–२०२६’ औपचारिक रूपमा सुरु भएको छ। ‘स्टार्टअप्सः राष्ट्र निर्माणमा भूमिका’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले युवालाई विदेश रोज्ने प्रवृत्तिभन्दा स्वदेशमै उद्यम स्थापना गर्न प्रेरित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार अमेरिका, चीन, इजरायल, सिङ्गापुर, दक्षिण कोरिया र भारतजस्ता मुलुकले स्टार्टअप, नवप्रवर्तन र प्रविधिलाई आर्थिक विकासको प्रमुख आधार बनाएका छन्। सोही अनुभवलाई आत्मसात् गर्दै नेपालमा पनि युवाको सिर्जनशीलता, सीप र नवीन सोचलाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
यसअघि सन् २०२५ मा ‘स्टार्टअपमा अवसर, चुनौती र अबको बाटो’ विषयमा कार्यक्रम आयोजना गरिएको थियो। त्यसबाट प्राप्त सुझाव र अनुभवका आधारमा यस वर्षको समिटलाई देशव्यापी अभियानका रूपमा विस्तार गरिएको आयोजकको भनाइ छ।
अभियानको पहिलो कार्यक्रम त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको छ। आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित अन्य विश्वविद्यालय, विद्यालय, कलेज तथा सातै प्रदेशका शैक्षिक संस्थामा अभिमुखीकरण, अन्तरक्रिया, कार्यशाला र प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
.jpeg)
समिटमार्फत व्यवसाय कसरी सुरु गर्ने, व्यवसाय योजना तयार गर्ने, लगानी जुटाउने, सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध सहुलियत र ऋण सुविधा उपयोग गर्ने तथा उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने विषयमा युवालाई व्यावहारिक जानकारी प्रदान गरिनेछ।
कार्यक्रममा नेपाल स्टार्टअप समिट–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा सम्भावनाको अभाव नभई त्यसको उपयोग गर्ने सोच र आत्मविश्वासको कमी रहेको बताइन्। उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, उत्पादन, सेवा तथा डिजिटल व्यवसायका क्षेत्रमा पर्याप्त अवसर रहेको उल्लेख गर्दै युवाले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोच विकास गर्नुपर्नेमा जोड दिइन्।
उनले नेपाल राष्ट्र बैंक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा तथा स्टार्टअप प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उपलब्ध अवसरको उपयोग गर्न आग्रह गरिन्।
कार्यक्रमका प्रमुख वक्ता तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश गुप्ताले कम्पनी दर्ता, कानुनी प्रक्रिया, कर प्रणाली, बजार अध्ययन, लगानी व्यवस्थापन र व्यवसाय सञ्चालनका विषयमा प्रस्तुति दिएका थिए। उनले सफल स्टार्टअपका लागि ठूलो लगानीभन्दा स्पष्ट उद्देश्य, उचित योजना, निरन्तर प्रयास र समस्या समाधान गर्ने क्षमता आवश्यक हुने बताए।
कार्यक्रममा सहभागी शैक्षिक संस्थाका प्रतिनिधिहरूले नेपालमा उद्यमशीलताको संस्कृतिको विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यवसाय, नवप्रवर्तन, नेतृत्व विकास र आत्मनिर्भर बन्ने सीप प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
आयोजकका अनुसार समिट अब सातै प्रदेशका विश्वविद्यालय, विद्यालय र कलेजसम्म विस्तार गरिनेछ। प्रत्येक कार्यक्रममा सफल उद्यमी, उद्योगी, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, लगानीकर्ता र विषयविज्ञको सहभागितामार्फत युवालाई प्रत्यक्ष सिकाइ, मार्गदर्शन र नेटवर्किङको अवसर प्रदान गरिनेछ।
नेपालबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई कम गर्दै स्वदेशमै उद्यम स्थापना, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।






२० श्रावण , २,०८३