नोटिफाई नेपालLoading...



नेपाली समाज बुल्गेरियाले बुल्गेरियामा रोजगारीका क्रममा असामयिक निधन भएका नेपाली नागरिक सुमन अर्यालको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाली समाजले बुल्गेरियामा बसोबास तथा रोजगारी, व्यवसाय र विभिन्न पेशामा आबद्ध नेपालीहरूको सहयोगबाट संकलित रकम सहयोग गरेको नेपाली समाज बुल्गेरियाका सचिव रविन्द्र बुर्लाकोटीले जानकारी दिए । समाजले पाँच लाख ७४ हजार ८७९ रुपैयाँ स्वर्गीय अर्यालकी पत्नीको बैंक खातामा हस्तान्तरण गरेको हो । समाजले स्वर्गीय अर्यालप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको निधनले बुल्गेरियास्थित नेपाली समुदायलाई गहिरो दुःख र पीडा पुगेको उल्लेख गरेको छ । साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ । नेपाली समाज बुल्गेरियाले अर्यालको निधनपछि त्यहाँ रहेका नेपालीहरूले मानवीय भावनाका साथ आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए ।
उक्त अभियानमार्फत संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको हो । समाजले दुःखद घडीमा सहयोग, ऐक्यबद्धता र साथ दिने सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ । नेपाली जहाँ रहे पनि नेपालीको दुःखमा साथ दिन तयार रहने भावना यस अभियानमार्फत पुनः प्रमाणित भएको समाजको भनाइ छ । नेपाली समाज बुल्गेरियाका अध्यक्ष सञ्जय राई, उपाध्यक्ष सन्जोक क्षेत्री, कोषाध्यक्ष बिमल राई, सचिव रविन्द्र बुर्लाकोटी लगायत पदाधिकारी तथा सदस्यहरूले सहयोग अभियानमा सहभागी सबै नेपालीप्रति धन्यवाद व्यक्त गरेका छन् । समाजले आगामी दिनमा पनि विदेशमा रहेका नेपालीबीच एकता, सद्भाव र सहयोगको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।







१२ असार , २,०८३