नोटिफाई नेपालLoading...



बीस वर्षदेखि जानकी मन्दिरको महन्तको गद्दीमा विराजमान रहेका रामतपेश्वर दास वैष्णवले मन्दिरलाई ‘ट्रस्ट’ मा लैजाने अभिव्यक्ति दिएपछि नयाँ बहस सुरु भएको छ । मन्दिरको आम्दानी र खर्चमा महन्त दासको एकलौटी अधिकार हुँदाहुँदै आखिर किन गरे ‘ट्रस्ट’ मा लैजाने प्रस्ताव ? आफू महन्तबाट हट्न लागेपछि ‘ट्रस्ट’ बाट सञ्चालन होस् चाहेको हो ?
त्यो बुझ्न गुठी संस्थानले केही दिनअघि जानकी मन्दिरमा महन्त नियुक्तिका लागि अगाडि बढाएको प्रक्रिया र उत्तराधिकारी महन्त रामरोशन दासको दौडधुपबारे बुझ्नुपर्छ ।
गुठी ऐन २०३३ अनुसार महन्तको कार्यकाल पाँच वर्षको हुन्छ । महन्त दासको कार्यकाल पूरा भइसकेको छ । दास गुरु–शिष्य परम्पराअनुसार महन्तमा नियुक्त भएका थिए । तर गुठीले यसपटक पुजारी तथा जनशक्ति व्यवस्थापन निर्देशिकाबमोजिम नियुक्त गर्न लागेको हो ।
निर्देशिकाअनुसार महन्त बन्न उत्तराधिकारी महन्त हुनैपर्ने जरुरी छैन । गुठी सञ्चालक समितिले सम्बन्धित धर्म सम्प्रदायको दर्शनसम्बन्धी ज्ञान भएको व्यक्तिलाई महन्त नियुक्त गर्न सक्छ । महन्त बन्न मुख्य महन्तको साथभन्दा गुठी संस्थानका पदाधिकारीको निर्णयमा निर्भर हुन्छ । संस्थानको निर्णय आफ्नो पक्षमा पार्न रामरोशन लागिपरेका छन् ।
गुठी संस्थानले महन्त नियुक्ति प्रक्रिया अगाडि बढाएसँगै उत्तराधिकारी महन्त रामरोशन जानकी मन्दिरको मुख्य महन्त बन्न सक्रिय भएका छन् । आफूलाई हटाएर महन्त बन्न रामरोशन गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौंमा दौडधुप सुरु गरेपछि रामतपेश्वर आक्रोशित बनेका छन् ।
रामतपेश्वर आफूलाई हटाएर रामरोशनलाई महन्त बनाउन लागेको कुरा थाहा पाएपछि उनले समितिमार्फत मन्दिर सञ्चालन गराउन यहाँका नागरिक समाजलाई आग्रह गर्न थालेका छन् ।
बीस वर्षदेखि मन्दिरमा एकछत्र राज गरेका रामतपेश्वरको महन्त पद खुस्किन लागेपछि उनले ‘ट्रस्ट’ को कुरा उठाएको आरोप लागेको छ । तर रामरोशन ‘ट्रस्ट’ को पक्षमा छैनन् । रामरोशन महन्त बनेर मन्दिरको साधन स्रोत प्रयोग गर्न चाहेको बताइएको छ, जसरी महन्त रामतपेश्वरले बीस वर्षसम्म गर्दै आएका थिए ।
उत्तराधिकारी महन्त रामरोशनले मुख्य महन्त बन्नका लागि गत शुक्रबार गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौं पुगेका छन् । गुठी संस्थानका पदाधिकारीलाई आर्थिक प्रभावमा पार्नकै लागि काठमाडौं ओहोरदोहोरमा लागेको स्रोतले बताएको छ । ती स्रोतका अनुसार उनकै पहलमा संस्थानले महन्त नियुक्तिका लागि अग्रसरता देखाएको छ । आर्थिक लेनदेनकै कुरा गर्न उनी अहिले काठमाडौं पुगेको स्रोतको दाबी छ ।
रामरोशनले आफूलाई मुख्य महन्त बन्ने इच्छा रहेको स्वीकार गरे । उनले नागरिकसँग भने, ‘महन्तजी उमेरको हिसाबले ७५ कटिसक्नुभएको छ । अब उहाँले आफ्नै शरीर सम्हाल्न सकिरहनुभएको छैन । मन्दिर कसरी सम्हाल्न सक्नुहुन्छ ? उहाँलाई उठ्न–बस्न पनि अन्य मान्छेको सहारा लिनुपरेको छ, अब उहाँले महन्तको जिम्मेवारी छोड्नुपर्छ ।’
उनले आफू मन्दिरको महन्त बनेर राम्रोसँग चलाएर देखाउन चाहेको बताए । उनले एकपटक महन्त बन्ने मौका दिन जनकपुरवासीलाई आग्रहसमेत गरे ।
महन्त दासले आफूलाई रामरोशनले मन्दिरबाट हटाउन लागिपरेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘जसरी जेन–जी आन्दोलनले केपी शर्मा ओली र शेरबहादुर देउवालाई सत्ताबाट बाहिर गर्यो, त्यसरी नै आफूलाई जानकी मन्दिरबाट बाहिर गर्न लागेको छ ।’
उनले रामरोशनबाट आफ्नो ज्यानको खतरा रहेको भन्दै प्रशासनसँग शान्ति सुरक्षाको माग गरेका छन् । शक्ति र स्रोतका लागि प्रतिस्पर्धा गरिरहेका रामतपेश्वर र रामरोशन नाता मामा–भान्जा पर्छन् ।
महन्त रामतपेश्वर दास वैष्णवले आफ्नो फर्जी हस्ताक्षर गरेर रामरोशन दासले गुठी संस्थानबाट उत्तराधिकारी महन्तको नियुक्ति लिएको आरोप लगाएका थिए । उनले आफ्नो ज्येष्ठ शिष्य रामरोशन नभई मनोज दास रहेको बताएपछि शिष्य सम्बन्धी विवाद जिल्ला अदालत धनुषा पुगेको थियो ।
अदालतले हस्ताक्षर कीर्ते नभएको ठहर गरेपछि उत्तराधिकारी र ज्येष्ठ शिष्यसम्बन्धी विवाद साम्य भएको थियो । अदालतको फैसला आफ्नो पक्षमा आएपछि उनले नै गुठी संस्थानलाई महन्त नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन जोडबल गरेका हुन् । अदालतको फैसला आएपछि मात्रै संस्थानले महन्त नियुक्तिमा सक्रियता देखाउनुले पनि उनकै पहलमा संस्थानले महन्त नियुक्ति गर्न लागेको संकेत गर्छ ।
उनीनिकट स्रोतका अनुसार अदालतको फैसला पहिले आएको भए रामरोशन महन्त बनिसकेका हुन्थे । बल्ल केही महिनाअघि मात्रै उनी त्यो विवादबाट बाहिर निस्किएका छन् । अब उनी आफ्नो मुख्य लक्ष्यतर्फ अगाडि बढेको स्रोतको दाबी छ ।
१३ वर्षअघि संस्थानले रामतपेश्वरलाई हटाएको थियो
२०७० माघ १७ गते रामतपेश्वर दासलाई हटाएर संस्थानले जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो । रामतपेश्वर दासले गुठीको जग्गा अतिक्रमण गरेको र नियुक्तिको सर्तबमोजिम आय–व्यय विवरण नबुझाएको भन्दै उनलाई हटाएर संस्थानले जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो ।
महन्तबाट हटाएपछि महन्त दासले जानकी मन्दिरमा महन्त गुरु–शिष्य परम्पराबाट नियुक्त हुने भन्दै सर्वोच्च अदालतमा नियुक्तिविरुद्ध मुद्दा दायर गरेका थिए । उनले अदालतमा मुद्दा र सडकमा आफ्ना पक्षधरलाई आन्दोलनमा उतारेर गुठी संस्थान जनकपुरमा तालाबन्दीसमेत गराएका थिए ।
जनकपुरका तत्कालीन गुठी प्रमुख दीपक पाण्डेलाई कालोमोसो दलेको अभियोगमा जिल्ला अदालतले रामतपेश्वरलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
तत्कालीन गुठी प्रमुखलाई कालोमोसो दलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको फैसला उनकै पक्षमा आएको थियो । सर्वोच्चले रामतपेश्वरलाई महन्तमा सदर गरेपछि जगदीश दास महन्त पदबाट हटेका थिए ।
त्यसयता रामतपेश्वर नै मुख्य महन्त रहेका छन् । त्यतिबेला महन्त नियुक्तिसम्बन्धी निर्देशिका नआइसकेकाले गुठी संस्थानले उनलाई निरन्तरता दिएको थियो । तर सर्वोच्चले निर्देशिका आइसकेकाले सोहीबमोजिम महन्त नियुक्ति गर्न आदेश दिएपछि गुठी संस्थान जनकपुरले महन्त नियुक्तिका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
स्रोतका अनुसार गुठी संस्थान जनकपुरका प्रमुख किशोर कुमार झा पनि रामरोशनलाई नै महन्त बनाउन चाहना राखेका छन् । तर गुठी संस्थान जनकपुरका प्रमुख झाले आफूले कुनै व्यक्तिको नाम तोकेर सिफारिस नगरेको बताए ।
उनले नागरिकसँग भने, ‘यसअघि २०७० माघ १७ गते रामतपेश्वर दासलाई हटाएर संस्थानले जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेपछि रामतपेश्वरले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सर्वोच्चले रामतपेश्वरको पक्षमा फैसला गरेपछि हालसम्म उनी महन्त रहेका छन् ।’
‘२०८०–८१ मा पुनः सर्वोच्च अदालतले पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका आइसकेका हुनाले निर्देशिकाबमोजिम महन्त नियुक्त गर्न आदेश गरेपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ,’ गुठी संस्थान जनकपुर शाखा प्रमुख झाले भने, ‘रामतपेश्वर दास पुनः महन्त बन्न आफैँ निवेदन हाल्नुहुन्छ कि रामरोशन बन्नुहुन्छ, त्यो उहाँहरूलाई थाहा होला । हामी गुठी ऐनअनुसार प्रक्रिया मात्रै अगाडि बढाइरहेका छौँ।’






२० श्रावण , २,०८३