नोटिफाई नेपालLoading...



सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएपछि विद्यालय तहको पठनपाठन सञ्चालन र वार्षिक कार्यघण्टा मिलान गर्न पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था लागू गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्ले इन्धन खपत घटाउने उद्देश्यसहित गत चैत २२ गते सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। त्यसपछि विद्यालय सञ्चालन, पठनपाठनको अवधि र कार्यघण्टा समायोजन गर्न स्थानीय तह, विद्यालय तथा शिक्षकलाई चुनौती थपिएको केन्द्रले जनाएको छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वैशाख ११ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलको सुझावका आधारमा पाठ्यक्रम समायोजन तथा कार्यघण्टा मिलानसम्बन्धी नयाँ व्यवस्था स्वीकृत गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए।
सरकारले तोकेको सार्वजनिक बिदा, शिक्षा ऐन र नियमावलीअनुसारका अतिरिक्त बिदा तथा प्रदेश र स्थानीय तहले दिने बिदाका कारण वार्षिक कार्यघण्टा पूरा गर्न विद्यालयलाई कठिनाइ हुँदै आएको केन्द्रको भनाइ छ।
शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयमा एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ। त्यस्तै बडादसैँको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहने तथा वार्षिक बिदा बढीमा ४५ दिनसम्म हुने प्रावधान पनि नियमावलीमा उल्लेख छ।
केन्द्रले पाठ्यक्रममा समेटिएका विषयवस्तु, पाठ्यभार र अतिरिक्त क्रियाकलापलाई समन्वय गर्दै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रारम्भिक बालविकास तहमा वार्षिक ७६५ घण्टा सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था छ भने २६५ घण्टा मनोरञ्जन, खेलकुद, आराम र भोजनका लागि छुट्याइएको छ।
कक्षा १ देखि ३ सम्म वार्षिक ८३२ कार्यघण्टा, कक्षा ४ देखि ७ सम्म एक हजार २४ कार्यघण्टा तथा कक्षा ९ देखि १२ सम्म न्यूनतम एक हजार १८४ देखि अधिकतम एक हजार ३४४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको महानिर्देशक पौडेलले बताए।
उनका अनुसार विद्यालय दैनिक छ घण्टा सञ्चालन हुँदा प्रार्थना र खाजा समय कटाएर पठनपाठनका लागि पाँच घण्टा २५ मिनेट मात्र उपलब्ध हुन्छ। त्यसअनुसार वार्षिक उपलब्ध हुने समय ७५८ घण्टा रहने देखिएको छ। अपुग हुने कार्यघण्टा भने परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा अतिरिक्त सिकाइ क्रियाकलापमार्फत पूर्ति गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दुईदिने बिदाको निर्णयलाई महासङ्घले समर्थन गरेको बताए। यद्यपि शिक्षक तथा कर्मचारीसँग सम्बन्धित निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्ने उनको माग छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का महासचिव आरबी कटवालले आइतबार बिदा दिने निर्णय पूर्ण रूपमा कार्यान्वयन गरिने बताए। कार्यघण्टा मिलाउन केही सार्वजनिक बिदामा समेत पठनपाठन सञ्चालन गर्न सकिने तथा वार्षिक परीक्षापछिको समय उपयोग गर्नुपर्ने उनको सुझाव छ। आइतबार कक्षा सञ्चालन गर्ने विद्यालयको जिम्मेवारी संगठनले नलिने पनि उनले स्पष्ट पारे।








१ जेठ , २,०८३