नोटिफाई नेपालLoading...



नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले मंगलबार परराष्ट्र मन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
श्रीलङ्काका नागरिक हरिदासले यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले जुलाई २०२६ देखि युएनएफपीएको पूर्ण प्रतिनिधिका रूपमा कार्यभार सम्हालेका हुन्।
हरिदाससँग एसिया र अफ्रिकाका विभिन्न मुलुकहरूमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम तथा मानवीय सहायताका क्षेत्रमा २३ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ।
ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा मन्त्री खनाल र प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता र तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
छलफलका क्रममा नेपालको बदलिँदो जनसाङ्ख्यिक अवस्थालाई सम्बोधन गर्न तथा समावेशी र दिगो विकासका लागि जनसाङ्ख्यिक तथ्याङ्क प्रणाली र विश्लेषणलाई अझ सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो।
परराष्ट्र मन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकताहरू अघि बढाउन र स्वास्थ्य प्रणालीलाई थप सशक्त बनाउन नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिएको बताए। बदलिँदो जनसाङ्ख्यिक प्रवृत्तिलाई विकास योजनासँग एकीकृत गर्न युएनएफपीएलगायत विकास साझेदारसँगको रणनीतिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन (आईसीपीडी) को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रिय जनसङ्ख्या प्रणालीलाई सुदृढ बनाउन सरकार र सरोकारवालासँग मिलेर काम गर्ने बताए। उनले नेपाल अहिले महत्त्वपूर्ण जनसाङ्ख्यिक मोडमा रहेको उल्लेख गर्दै दिगो विकासका लागि जनसाङ्ख्यिक परिवर्तनबाट प्राप्त हुने अवसरको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।
हरिदासले जनसाङ्ख्यिक सूचना तथा ज्ञान प्रणालीलाई सुदृढ बनाउने, महिला, किशोरी र युवाको अधिकार तथा छनोटको संरक्षण गर्ने तथा जनसङ्ख्याको गतिशीलतालाई समावेशी र दिगो विकाससँग जोड्ने उद्देश्यका साथ नेपाल सरकारसँगको सहकार्यलाई अझ मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताए।
युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। संस्थाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, जनसङ्ख्या तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा विकासको मूलधारमा कसैलाई पनि पछाडि नछोड्ने राष्ट्रिय प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ।








३२ असार , २,०८३