नोटिफाई नेपालLoading...



उत्तर कोरियाका नेता किम जोङ उन को हत्या भएको खण्डमा वा उनी कुनै पनि कारण असक्षम भएमा स्वतः आणविक हमला गर्ने व्यवस्था सहित उत्तर कोरियाले आफ्नो आणविक नीतिमा संशोधन गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले मार्च २२ मा प्योङयाङमा आयोजित १५ औँ सर्वोच्च जनसभाको पहिलो सत्रमार्फत संवैधानिक संशोधन पारित गरेको छ।
बेलायती पत्रिका द टेलिग्राफका अनुसार संशोधित कानुनले देशको आणविक हतियारमाथिको अन्तिम नियन्त्रण किम जोङ उनमै रहने स्पष्ट पारेको छ । तर यदि विदेशी आक्रमणका क्रममा नेतृत्वमाथि खतरा भएमा वा कमाण्ड तथा नियन्त्रण प्रणाली ध्वस्त पार्ने प्रयास गरिएमा स्वचालित रूपमा आणविक हमला सुरु हुने नयाँ व्यवस्था थपिएको छ ।
संशोधित धारा ३ मा भनिएको छ, ‘यदि शत्रुतापूर्ण शक्तिको आक्रमणबाट राज्यको आणविक शक्तिमाथिको कमाण्ड तथा नियन्त्रण प्रणाली खतरामा परेमा आणविक हमला स्वतः र तुरुन्त सुरु गरिनेछ।’ यो कदम अमेरिकी र इजरायली सैन्य कारबाहीमा अली खामेनी सहित इरानी नेतृत्वमाथि भएको हमलापछि आएको विश्लेषण गरिएको छ।
यसैबीच, उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमा क्षेत्रमा नयाँ लामो दूरीको तोपखाना प्रणाली तैनाथ गर्ने योजना बनाएको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले हालै ३७ माइल टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने नयाँ प्रकारको १५५ मिलिमिटर स्वचालित हवित्जर तोपको उत्पादन निरीक्षण गरेका थिए।








१ जेठ , २,०८३