नोटिफाई नेपालLoading...



१) मुक्तक
थाेरै आलोचना पनि खेप्नै सक्दैन
सकारात्मक कुरा त लेख्नै सक्दैन
अचेल साह्रै आरिसे भएछ मान्छे
अरूले गरी खाएको देख्नै सक्दैन!
२) मुक्तक
नबोली बस्नु सधैं उपयुक्त हुँदैन,
मौनताले सत्य अभिव्यक्त हुँदैन।
जसले जतिसुकै देखाऊन् फुर्ति,
मालिक फेरिँदैमा दास मुक्त हुँदैन।
३) मुक्तक
हरेक पहेँलो वस्तु सुन र सेतो चाँदी हुँदैन
हरेक मीठो बोलीमा सधैँ इमानदारी हुँदैन
परिस्थितिले पनि लाचार बन्छ कैलेकाहीँ मान्छे,
सबै रुने पीडित, माफी माग्ने अपराधी हुँदैन।
४) मुक्तक
हिजोआज याे मन, बनेको छ जाति
ज-जसले भनून् जे, दुख्दैन छाती
बिताएछु जीवन, डराईडराई
सिकेँ बल्ल जिउन, आगाे समाती।
५) मुक्तक
हरेक मुटुमा मानवताको बलियो आधार चाहिन्छ
दुःखका बेला आँसु पुछ्ने आत्मीय संस्कार चाहिन्छ
खरानी र धुवाँको मात्रै कथा लेख्छ आगो ओकल्नेले
मन जित्न त मीठो बोली र मधुर व्यवहार चाहिन्छ।
६) मुक्तक
मुटु चिर्न चाहिन्न तरबार,
काफी हुन्छ वचनकै प्रहार
मुखौटा लगाएर हिँड्छन् मान्छे,
कहाँ चिनिन्छ हेरेर अनुहार?
७) मुक्तक
नयनरूपी तीर मुटुको वारपार भयाे
एकपटक मात्र होइन बारम्बार भयो
तिमी भेटियाै अनि पाे त मैले जिउन सिकें
त्यसैले नै आज याे जिन्दगी सानदार भयो।
८) मुक्तक
सहर पसेपछि, गाउँकाे पाखा बिर्सियाे
जब विदेश पस्याे, देशको नाका बिर्सियाे
कसैलाई छाेडेन, बिर्सने राेगले यहाँ
उसले मिति ताेक्दै, दिएको भाखा बिर्सियाे।
९) मुक्तक
हरेक दिन बिहानीकाे प्रहर बनेर आऊ
मनभित्र मीठासपूर्ण रहर बनेर आऊ
खडेरीले थलिएर सुख्खा बनेको जीवनमा
प्रेमरस सिञ्चन गर्ने नहर बनेर आऊ।
१०) मुक्तक
खहरेमा बेमौसमी भेल देखियो
स्वार्थ मिल्दा राम-रावण मेल देखियो
माया गरेजस्तो गर्ने आफ्नाहरूबाटै
हाँसीहाँसी गरिएको झेल देखियो।








३२ असार , २,०८३