नोटिफाई नेपालLoading...



पेट्रालियम आपूर्तिमा उत्पन्न असहजताको कारण देखाउँदै सरकारले साता दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सोमबारदेखि लागु हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि शनिबार मात्र सार्वजनिक बिदा थियो। यो निर्णयसँगे अब सरकारी कर्मचारी र शिक्षकले वर्षमा कम्तीमा १४५ दिन सार्वजनिक बिदा पाउने छन्।
यसअघि गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८३ सालका बिदा स्वीकृत गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले स्वीकृत गरेको बिदा सूची राजपत्रमा पनि प्रकाशित भइसकेको छ।
२०८३ सालमा ५२ वटा शनिबार र ५२ वटा आइतबार छन्। अघिल्लो सरकारले ३७ दिन विभिन्न पर्व बिदा र चार दिन विभिन्न दिवस बिदा स्वीकृत गरेको। यस आधारमा वर्षमा १४५ दिन सार्वजनिक बिदा हुनेछ। यसबाहेक कर्मचारीले छुट्टै बिदा पाउछन्। उनीहरूले पाउने बिदाबारे निजामती सेवा नियमावलीमा व्यवस्था गरिएको छ।
सातामा दुई दिन बिदा दिने निर्णयको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा सातामा दुई दिन बिदा दिने निर्णय वैज्ञानिक र सही भएकाले यसलाई स्थायी रूपमै लागु गर्नुपर्ने बताएका छन्।
सातामा दुई दिन बिदा दिने निर्णय यसअघि दुई पटक भएको थियो। दुवै पटकको निर्णयल स्थायित्व भने पाएनन्। २०५६ सालमा करिब ६ महिना सातामा दुई दिन सार्वजनिक बिदाको अभ्यास भएको थियो। दुई दिन बिदा दिने निर्णयबाट सरकार ६ महिनामै पछि हटेपछि उक्त निर्णयले निरन्तरता पाएन। २०४८ सालमा गठन भएको प्रशासन सुधार सुझाव आयोगको सिफारिसमा तत्कालीन सरकारले २०५६ सालमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसपछि २०७९ जेठ र असारमा सातामा दुई दिन बिदा दिइएको थियो। उक्त निर्णय २०७९ साउन १ गतेदेखि लागु हुनेगरी खारेज गरिएको थियो। त्यतिबेला इन्धनमा सरकारी खर्च जोगाउने उद्देश्यले सातामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको थियो। सातामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भन्दै विरोध भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो।
२०७७ सालमा योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला सातामा दुई दिन बिदा दिन पहल गरिएको थियो। त्यसका लागि प्रस्तावसमेत तयार परिएको थियो। पर्यटन मन्त्रालयका तत्कालीन प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरी दुई दिन बिदा दिने प्रस्ताव तयार पारिएको थियो। आन्तरिक पर्यटक बढाउने उदेश्यबाट उक्त प्रस्ताव तयार पारिएको थियो। दुई दिन बिदा दिएमा राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, लैंगिक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन हुने जस्ता तर्क गरिएको थियो तर सामान्य प्रशासन मन्त्रालयबाटै विरोध भएपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएन।
कर्मचारीलाई बिदैबिदा
सार्वजनिक बिदाबाहेक सरकारी कर्मचारीले अन्य बिदा पनि पाउछन्। उनीहरूले वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरी तथा पर्व बिदा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा र थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाउँछन्। महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उनका पतिलाई समेत १५ दिन सुत्केरी बिदा सुविधा हुन्छ। आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिनबराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन्। पूर्वनिर्धारित सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा दिन्छ।








२३ चैत , २,०८२