नोटिफाई नेपालLoading...



गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले क्षेत्रीय सम्मेलन आयोजना, संगठनात्मक एकीकरण, आर्थिक व्यवस्थापन तथा रिक्त पदहरू पूर्तिसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले संघको आगामी कार्यदिशा निर्धारण गर्ने विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षता तथा महासचिव डा. चिरञ्जीवी खड्काको सञ्चालनमा सम्पन्न बैठकको पहिलो दिन पछिल्ला तीन महिनाका संस्थागत, आर्थिक तथा विभागीय गतिविधिको समीक्षा गरिएको थियो ।
बैठकले आगामी अगस्ट १० र ११ मा आयरल्यान्डको डब्लिनमा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलन तथा अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउमा आयोजना हुने ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनलाई अनुमोदन गरेको छ। यस्तै मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६, ओसियाना सम्मेलन डिसेम्बर २०२६ मा न्युजिल्यान्डमा तथा अमेरिका क्षेत्रीय सम्मेलन मार्च–अप्रिल २०२७ मा क्यानडामा आयोजना गर्ने प्रारम्भिक योजना पनि स्वीकृत गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताए ।
प्रवक्ता सापकोटाका अनुसार बैठकमा चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा दोस्रो पुस्ताका युवाको सम्मेलन सन् २०२७ को जनवरीभित्र आयोजना गर्ने जानकारी गराइएको थियो। विभिन्न विभागहरूले प्रस्ताव गरेका कार्यसन्दर्भ तथा समितिको गठन र सदस्यता पनि अनुमोदन गरिएको छ।
आर्थिक व्यवस्थापनतर्फ बैठकले गत मार्चमा काठमाडौंमा सम्पन्न १२औँ विश्व सम्मेलन तथा आईजीए कार्यक्रमको आय–व्यय विवरण अनुमोदन गरेको छ। आर्थिक वर्ष २०८३÷८४ का लागि ५ करोड ३७ लाख ६३ हजार ६ सय ६८ रुपैयाँ बराबरको सचिवालय बजेट स्वीकृत गरिएको छ। आईसीसी पदाधिकारी तथा सदस्यहरूको लेभी र मनोनयन शुल्क बुझाउन थप दुई साताको समय दिने तथा तोकिएको समयभित्र शुल्क नबुझाउनेलाई आधिकारिक वेबसाइटबाट हटाउने निर्णय पनि गरिएको छ।
बैठकले सचिवालय भवनको मर्मत, छत व्यवस्थापन तथा सूचना प्रविधि प्रणालीलाई सुदृढ बनाउन दुई जना आईटी अधिकारी नियुक्तिको प्रक्रियालाई अनुमोदन गरेको छ।
संगठनात्मक एकताका लागि नेदरल्याण्ड्स र डेनमार्कका विभाजित एनसीसीहरूको एकीकरण स्वीकृत गरिएको छ। कतार, फ्रान्स, बेल्जियम, माल्टा, मलेसिया र थाइल्यान्डका दुई समूहमा रहेका एनसीसीहरूको एकीकरण पनि सदस्यता शुल्क बुझाउने सर्तमा अनुमोदन गरिएको छ। अमेरिका, पोर्चुगल, अस्ट्रिया, युएई, कुवेत र दक्षिण कोरियालाई एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
बैठकले रिक्त आईईएस, पदाधिकारी, सल्लाहकार तथा मानार्थ परिषद्का पदमा नियुक्तिका लागि छनोट मापदण्ड स्वीकृत गरेको छ। महिला, युवा, दोस्रो पुस्ता र विज्ञ समूहबाट करिब ७० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको छ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, डा. बद्री केसी, महेश श्रेष्ठ तथा संस्थापक महासचिव भीम उदासलाई संरक्षक परिषद्मा नियुक्त गर्ने निर्णय गरिएको छ। साथै बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका सामाजिक मानवशास्त्री प्राध्यापक डेविड गेल्नरसहित विभिन्न व्यक्तित्वलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ।
निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउन सात सदस्यीय प्राविधिक समिति गठन गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। एनआरएनए फाउन्डेसनलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउन नेदरल्याण्ड्सबाट दर्ता प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ।
प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिअनुसार बैठकले अन्तर्राष्ट्रिय रेडक्रस महासंघ, चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य संघ तथा ‘वी विल राइज फाउन्डेसन’सँग भएका सहकार्य सम्झौताहरूलाई पनि अनुमोदन गरेको छ।







१२ असार , २,०८३