नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत चार वर्षमा पार्टीले सोचेअनुरूप काम गर्न नसकेको स्वीकार गर्दै कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले अब पार्टी थप परिपक्व बन्ने दाबी गरे। पार्टीको साङ्गठनिक यात्राको समीक्षा गर्दै सभापति लामिछानेले महाधिवेशनसम्म आइपुग्दा धेरै पाठ सिकेको बताए।
‘विगत चार वर्षमा हामीले भनेअनुसार धेरै काम गर्न सकेनौँ, हाम्रा कमीकमजोरीहरू यो महाधिवेशनको प्रक्रियासम्म देखियो,’ लामिछानेले भने, ‘यी सबै कमीकमजोरीहरूलाई हामीले सच्याउनुपर्छ। अब हामी अझ बढी परिपक्व हुन्छौँ।’
उनले आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले वडादेखि प्रदेश तहसम्मका सबै अधिवेशनहरूमा आफूलाई टाढा राख्ने प्रयास गरेको सुनाए।
यसका साथै लामिछानेले अत्यधिक गर्मीका बाबजुद पनि देशभरबाट उत्साहपूर्वक सहभागी भई धैर्यता देखाएका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिए। महाधिवेशनको व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ बढी सुविधाजनक र व्यवस्थित बनाउनेतर्फ पार्टीले ध्यान दिने बताए।
उनले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने स्वयंसेवक, व्यवस्थापक र सहयोगी सबैलाई विशेष धन्यवाद दिँदै नयाँ कार्यसमितिले देश र जनताको हितमा बलियो ढंगले काम गर्ने विश्वास व्यक्त गरे।







१२ असार , २,०८३