नोटिफाई नेपालLoading...



समयमै मनसुन सक्रिय हुन नसक्दा र पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
वर्षाद कम भएको कारण धान रोपाइँ कम भएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए । ‘पोहोरको तुलनामा केही कम भए पनि रोपाइँ गर्ने समय बाँकी छ,’ सञ्जेलले भने, ‘वर्षाद हुनासाथ रोपाइँ ह्वात्तै बढ्छ ।’
तथ्यांकअनुसार यस वर्ष हालसम्म एक लाख ५८ हजार पाँच सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कुल धान खेतीयोग्य क्षेत्रफल १३ लाख ८१ हजार चार सय ८८ हेक्टर क्षेत्रफल रहेको छ ।
लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत, गण्डकी प्रदेशमा १२.७ प्रतिशत, बागमती प्रदेशमा १२.६ प्रतिशत, कोशी प्रदेशमा ८.३ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९.३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा कोशीमा १४.३ प्रतिशत, मधेशमा ३.९ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, लुम्बिनीमा ९.७ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत र सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ भएको थियो ।
मनसुन कमजोर हुँदा पर्याप्त पानीको अभाव भएको छ । अधिकांश किसानले खेतमा पानी नजमेका कारण रोपाइँ सुरु गर्न वा तीव्र बनाउन सकेका छैनन् । आगामी केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा नभए रोपाइँ अझै पछाडि धकेलिने र त्यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्ने चिन्ता बढेको छ । किसानहरूले समयमै पानी नपाउँदा बिउँ तयार भए पनि खेतमा सार्न नसकेको गुनासो गरेका छन् ।







१२ असार , २,०८३