नोटिफाई नेपालLoading...



विश्वभर प्लास्टिकको बढ्दो प्रयोग वातावरण संरक्षणका लागि गम्भीर चुनौती बन्दै गएको छ। प्लास्टिकजन्य सामग्री छिट्टै नष्ट नहुने भएकाले यसको जथाभावी प्रयोग र व्यवस्थापनले वातावरण प्रदूषणसँगै सहरी सौन्दर्यमा समेत नकारात्मक असर पारिरहेको छ। नेपाल पनि यस समस्याबाट अलग छैन।
काठमाडौं उपत्यकामा दैनिक करिब १ हजार ४५ टन फोहोर संकलन हुने गरेको छ। त्यसमध्ये काठमाडौं महानगरपालिकाबाट मात्रै दैनिक ५१६ टन बढि फोहोर उत्पादन हुन्छ। संकलित फोहोरमध्ये झण्डै ७० प्रतिशत जैविक (अर्गानिक) र ३० प्रतिशत प्लास्टिकजन्य रहेको तथ्यांकले देखाएको छ।
पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नदी–नाला र सार्वजनिक स्थलसम्म प्लास्टिक फोहोरको मात्रा बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकाका बागमती र विष्णुमती नदीमा वर्षात्का बेला सडक तथा सार्वजनिक स्थानमा फालिएका लाखौँ प्लास्टिकका झोलाहरू बगेर पुग्ने गरेका छन्।
वातावरणविद्हरूका अनुसार प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि सबैभन्दा प्रभावकारी उपाय व्यक्तिगत सचेतना हो। प्लास्टिक झोलाको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडा वा अन्य वैकल्पिक झोला प्रयोग गर्न सके ठूलो मात्रामा फोहोर कम गर्न सकिन्छ। सामान्य रूपमा खल्तीमा सानो पुनः प्रयोगयोग्य झोला बोकेर हिँड्दा पनि दैनिक प्रयोग हुने थुप्रै प्लास्टिक झोलाको खपत घटाउन सकिने उनीहरूको भनाइ छ।
नेपालमा प्लास्टिक नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। काठमाडौं महानगरपालिकाले विक्रम संवत् २०७२ वैशाख १ गतेदेखि प्लास्टिक झोला निषेध गर्ने निर्णय गरेको थियो। तर कार्यान्वयनमा कठिनाइ भएको भन्दै सरकारले २०७५ जेठ २३ गते प्लास्टिक झोलाको प्रयोगसम्बन्धी मापदण्ड संशोधन गरेपछि प्लास्टिकजन्य फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
वातावरण विभागका अधिकारीहरूका अनुसार हाल विश्वभर बहु–तहयुक्त (मल्टिलेयर) प्लास्टिक र विभिन्न र्यापरहरू सबैभन्दा ठूलो समस्या बनेका छन्। यस्ता सामग्री पुनः प्रशोधन (रिसाइक्लिङ) गर्न कठिन हुने भएकाले तिनका वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । विभागले प्लास्टिक झोलाको सट्टा वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्दै रिसाइक्लिङ, अपसाइक्लिङ तथा ‘सर्कुलर इकोनोमी’को अवधारणालाई अघि बढाउने जनाएको छ।
उपलब्ध तथ्यांकअनुसार सन् २०११ मा एक नेपालीले दैनिक औसत ३१७ ग्राम फोहोर उत्पादन गर्थे, जसमा १२ प्रतिशत प्लास्टिकजन्य सामग्री समावेश थियो। त्यस्तै, सन् २०१८ को अध्ययनले काठमाडौंमा मात्रै दैनिक ४७ देखि ४८ लाखसम्म प्लास्टिकका झोला प्रयोग हुने देखाएको छ। सहरी फोहोरमध्ये करिब १६ प्रतिशत हिस्सा प्लास्टिकजन्य सामग्रीको रहेको छ।
विज्ञहरूका अनुसार भविष्यमा बढ्न सक्ने वातावरणीय तथा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकार, निजी क्षेत्र र सर्वसाधारण सबैको सक्रिय सहभागिता आवश्यक छ। प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने तथा उचित व्यवस्थापन गर्ने संस्कृतिको विकास गर्न सके मात्र बढ्दो प्लास्टिक प्रदूषण नियन्त्रण गर्न सकिने उनीहरूको भनाइ छ।






२२ जेठ , २,०८३