नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको पाँचदिने भ्रमण सम्पन्न गरेका छन्।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार दिल्लीस्थित नेपालका शीर्ष कूटनीतिज्ञ डा. सुरेन्द्र थापा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभागका इन्चार्ज डा. विजय चौथाईवाले विदाइ गरेका हुन्।
भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबारदेखि सुरु भएको भ्रमणको क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार नयाँ दिल्लीमा शिष्टाचार भेट गरेका थिए। त्यसअघि मंगलबार उनले भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. जयशंकर र भाजपाका अध्यक्ष नवीनलगायत उच्च पदाधिकारीसँग भेटवार्ता गरेका थिए। त्यस्तै, बिहिबार उनले भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग पनि नयाँ दिल्लीमा भेटघाट गरेका थिए।
भ्रमणका क्रममा लामिछानेले नेपाल दूतावास परिवारसँग अन्तरक्रिया गर्नुका साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकसँग भेटघाट र अयोध्याको व्यक्तिगत भ्रमण पनि गरे। सभापति लामिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन दूतावासले समन्वय गरेको थियो।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र प्रदीप आचार्य थिए। लामिछानेको भ्रमणबिच परराष्टमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा गएका छन्।






२२ जेठ , २,०८३