नोटिफाई नेपालLoading...



नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना मातहतका विद्यापीठ (क्याम्पस) मा प्राध्यापनरत प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा ‘पेशागत क्षमता विकास तालिम-२०८३’ सम्पन्न गरेको छ।
वाल्मीकि विद्यापीठ र विन्दुवासिनी विद्यापीठका विभिन्न विभागका प्रतिनिधित्व गर्ने ३० जना प्राध्यापकहरूको सक्रिय सहभागितामा २०८३ वैशाख ४ गतेदेखि १० गतेसम्म धुलिखेलस्थित तालिम केन्द्रमा आवासीय सुविधासहित सप्ताहव्यापी प्रशिक्षण सञ्चालन गरिएको थियो। तालिमको समापन आज गरिएको विश्वविद्यालयले जनाएको छ।
तालिमको उद्घाटन समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालको प्रमुख समुपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षाध्यक्ष प्राध्यापक भोजराज पन्त, नेसंवि केन्द्रीय प्राध्यापक संघका पूर्वसभापतिद्वय प्रा.डा. शान्तिकृष्ण अधिकारी र प्राध्यापक शम्भुराज गौतम, उपसभापति विष्णु पन्थी, महासचिव डा. नारायण बराललगायतको विशेष उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा सहभागी प्राध्यापकहरूलाई उत्साहपूर्वक प्रशिक्षणमा सहभागी हुन तथा सिकेका सिद्धान्तलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न शुभकामना दिइएको थियो।
प्रशिक्षणको प्रथम सत्रमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ध्रुवप्रसाद निउरेले पाठ्यक्रम निर्माणको डिजाइन, पाठ्यक्रमको स्वरूप, पाठ्यक्रमका तत्व, अवधारणा, विश्वविद्यालयको ध्येय तथा लक्ष्यअनुसार पाठ्यक्रमको तारतम्य, उपलब्धिकेन्द्रित शिक्षण, प्राध्यापकको भूमिका, ब्लुमका दृष्टिमा शैक्षिक उद्देश्यको वर्गीकरण, उच्चतहका संज्ञानात्मक सीप (HOTS), निम्नतहका संज्ञानात्मक सीप (LOTS), पाठ्यक्रमका समतलीय र लम्बीय संगठनलगायत विषयमा कार्यमूलक प्रशिक्षण दिएका थिए।
दोस्रो दिन काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. हेमराज काफ्लेले ‘तहगत अनुसन्धानका स्वरूप र ढाँचा’, अनुसन्धानका सिद्धान्त, आयाम र क्षेत्र तथा शिक्षण–सिकाइको विद्वत्तापूर्ण कार्यसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेलले ज्ञानको संश्लेषण र विश्लेषण, मोडेल अफ मेन्टरसिप एण्ड सुपरभाइजरी स्टाइल, प्रपोजल डेभलपमेन्ट एण्ड मेथोडोलोजिकल गाइडेन्स, अनुसन्धानका पक्ष, मार्गदर्शक तथा निर्देशकको स्वरूप, सुपरभाइजर मेन्टरको भूमिका, शोधप्रस्तावको स्वरूप, प्रकार र ढाँचालगायत विषयमा प्रशिक्षण दिएका थिए।
यसै क्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. वासुदेव काफ्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. वासु सुवेदी, केयूका अनुसन्धानविद् प्रा.डा. प्रकाशचन्द्र भट्ट, त्रिभुवन विश्वविद्यालयका प्रविधिविद् डा. वेदप्रसाद ढकाल तथा नेसंविका डा. राजकुमार साउदले पनि प्रशिक्षण दिएका थिए।
समापन समारोह सम्पन्न
एकहप्ते तालिमको समापन बिहीबार गरिएको थियो। समापन समारोहको सभाध्यक्षता प्रशिक्षण कार्यक्रम व्यवस्थापन समितिका संयोजक डा. राजकुमार साउदले गरेका थिए भने प्रमुख आतिथ्य शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीको रहेको थियो।
कार्यक्रममा विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल तथा केन्द्रीय प्राध्यापक संघका उपसभापति विष्णु पन्थीको विशेष आतिथ्यता रहेको थियो।
समापन सत्रमा सहप्राध्यापक डा. माधवप्रसाद लामिछानेले सहभागीका तर्फबाट प्रशिक्षणको उपयोगितामूलक प्रयोग गर्ने प्रतिबद्धतासहित स्वागत मन्तव्य राखेका थिए। सहभागी प्रशिक्षार्थी सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरेले समग्र प्रशिक्षणको मूल्यांकन गर्दै संस्कृत विश्वविद्यालयप्रति सकारात्मक धारणा निर्माण गर्न सबैलाई आग्रह गरेका थिए।
कालिका विद्यापीठका प्राचार्य तथा प्रशिक्षणका रिपोर्टर डा. केशव चालिसेले तालिमको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन विश्वविद्यालयका प्रशासक नवीन पोखरेल र उपप्राध्यापक उत्तम पौडेलले गरेका थिए।
विशिष्ट अतिथि विष्णु पन्थीले विश्वविद्यालयका स्तम्भका रूपमा रहेका प्राध्यापकहरूले विश्वविद्यालयको उद्देश्य तथा समाजको आवश्यकता परिपूर्तिका लागि निरन्तर अध्ययन–अनुसन्धान र नवप्रवर्तनमा लाग्नुपर्ने धारणा राखेका थिए।
कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेलले देशको प्रगति तथा उत्थानमा शिक्षक–प्राध्यापकको मार्गदर्शक भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विमोचित अनुसन्धानमूलक ‘ऋतम्भरा’ पत्रिका अब अर्धवार्षिक रूपमा नियमित प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले प्राध्यापकहरूलाई स्तरीय अनुसन्धानमूलक लेखरचना गर्न पनि प्रेरित गरेका थिए।
कुलसचिव माधव अधिकारीले प्रशिक्षण प्राप्त प्राध्यापकहरूले विश्वविद्यालयको समुत्थानका लागि सकारात्मक सोच विकास गर्नुपर्ने, विश्वविद्यालयको पहिचान उज्ज्वल राख्न सबै पक्ष एकजुट हुनुपर्ने तथा विभिन्न विभागबाट अनुसन्धानमूलक कार्य र प्रशिक्षणका लागि युजिसीमा प्रस्ताव पेश गर्दै जानुपर्ने बताएका थिए।
प्रमुख अतिथि तथा शिक्षाध्यक्ष भोजराज जोशीले विश्वविद्यालयको उत्थानमा प्राध्यापक वर्गको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आर्थिक सहयोग उपलब्ध गराउने विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयबाट आएका प्रशिक्षक, सहभागी प्राध्यापक, व्यवस्थापनमा खटिएका कर्मचारी, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक संघ तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए।
समारोहको अन्त्यमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेले संस्कृत विश्वविद्यालयमा यस्ता तालिम समय–समयमा सञ्चालन हुनुपर्ने, समयानुकूल पाठ्यक्रम विकास तथा शिक्षण विधिमा परिष्कार गर्नुपर्ने, विश्वविद्यालयको साख जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने तथा अध्ययन–अध्यापन र अनुसन्धानमा प्राध्यापक वर्ग तल्लीन हुनुपर्ने प्रतिक्रिया दिएका छन्।







१३ बैशाख , २,०८३