नोटिफाई नेपालLoading...



बलिउड अभिनेता रणवीर सिंह ‘कान्तारा मिमिक्री विवाद’मा कर्नाटक उच्च अदालतले ठुलो राहत दिएको छ।
अदालतले उनको विरुद्ध दर्ता भएको एफआईआर खारेज गर्दै मुद्दा टुंग्याउने निर्णय गरेको हो। तर एउटा सर्तसहित उच्च अदालतले उनलाई चार हप्ताभित्र चामुण्डेश्वरी (चामुण्डी हिल्स) मन्दिरको भ्रमण गर्न र माफी माग्न/प्रार्थना गर्न आदेश जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो सुनुवाइ शनिबार भएको थियो।
रणवीरले आफूविरुद्ध दर्ता भएको जाहेरी खारेज गर्न निवेदन दिएका थिए। उनीमाथि गोवामा भएको अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२५ को क्रममा फिल्म ‘कान्तारा’ (च्याप्टर १) को एक दृश्यको नक्कल गर्दै ‘चामुण्डा दैव’ लाई ‘भूत’ भनेर टिप्पणी गरेको आरोप थियो। यसले धार्मिक भावनामा चोट पुर्याएको उजुरी परेको थियो।
एक वकिलको उजुरीका आधारमा उनीविरुद्ध बेंगलुरुको प्रहरी कार्यालयमा एफआईआर दर्ता भएको थियो। त्यसपछि रणवीरले अदालतमा निवेदन दिएर बिना शर्त माफी मागेका थिए। उनले हलफनामा मन्दिर गएर श्रद्धाञ्जली अर्पण गर्न इच्छुक रहेको बताएका थिए।
सुनुवाइको क्रममा उनका वकिलले रणवीरले पछुतो व्यक्त गरेको र मन्दिर जान तयार रहेको उल्लेख गरे। यद्यपि, निवेदक पक्षले माफी पर्याप्त स्पष्ट नभएको तर्क गरेका थिए। अदालतले रणवीरको संशोधित हलफनामा माफी स्वीकार गर्दै चार हप्ताभित्र चामुण्डी हिल्सको चामुण्डेश्वरी मन्दिर भ्रमण गर्न निर्देशन दिएको छ।
न्यायाधीश एम. नागाप्रसन्नाले अभिनेताको व्यवहारलाई हल्का रूपमा नलिन चेतावनी दिने संकेत गर्दै मुद्दा टुंग्याउने क्रममा आदेशमा यो कुरा रेकर्ड गर्ने बताए। अदालतले भविष्यमा यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने सन्देश दिने पनि जनाएको छ।
सन् २०२५ नोभेम्बरमा आयोजित सो कार्यक्रममा रणवीरले ऋषभ शेट्टीको चरित्रको नक्कल गर्दै ‘दैव’ लाई ‘भूत’ भनेपछि विवाद सुरु भएको थियो। दैवलाई भूत भन्नु धार्मिक आस्थामाथिको प्रहार भएको उजुरीकर्ताको तर्क थियो। यसले सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि कानुनी प्रक्रिया अघि बढेको हो।
अब रणवीरले चार हप्ताभित्र मन्दिर भ्रमण गरेपछि मुद्दा पूर्ण रूपमा टुंगिनेछ। अदालतले एफआईआर खारेज गरिसकेको छ र औपचारिक आदेशमा माफी तथा मन्दिर भ्रमणको कुरा रेकर्ड हुनेछ। सबैको नजर अब रणवीरको मन्दिर भ्रमण र अदालतको अन्तिम आदेशमा छ।







१३ बैशाख , २,०८३