नोटिफाई नेपालLoading...



नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको दोस्रो कार्यकालका लागि राजेन्द्र राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन्। विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८ औँ प्रदेशसभाबाट राउतको प्यानल नै विजयी भएको हो।
अध्यक्ष पदका प्रतिस्पर्धी नवीन रिजाललाई ८४ मतान्तरले पराजित गर्दै राउतले दोस्रो पटक नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। कूल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रिजालले ५८ मत मात्रै प्राप्त गरे। यसअघि झापामा भएको महासंघको निर्वाचनमा राउत निर्विरोध निर्वाचित भएका थिए।
राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए। त्यसैगरी, जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो। एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३० मतमा सीमित भए।
शिवम् अर्गनाइजेसनका अध्यक्ष राउत महासंघ कोशीका संस्थापक सदस्य हुन्। उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ। उनीसँग प्रतिस्पर्धामा होमिएका रिजाल महासंघका केन्द्रीय सदस्य हुन्।
महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए।
जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध भएका छन्। निर्विरोध भएका सबै पदाधिकारी राउत समूहका हुन्।
एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए। जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भए। वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन्।
महासंघ कोशीमा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ जना मतदाता थिए। महासंघको नेतृत्व चयनका लागि २०५ जनाले मतदान गरेका हुन्।







२३ चैत , २,०८२