नोटिफाई नेपालLoading...



मुक्तककार मुनाल गोदार क्षेत्रीको (बतासे प्रेम) को लोकार्पण तथा परिचर्चाकाे साथमा सिर्जना वाचन कार्यक्रम भएको छ।
भीरकोट नगरपालिका- ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षता र भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रमकाे सभाध्यक्ष ताराप्रसाद अर्याल, प्रमुख अतिथि गोविन्दकुमार कर्माचार्य, प्रमुख वक्ता मिलन समीर, मुक्तककार मुनाल गोदार क्षेत्री, समाजसेवी व्यक्तित्व यामप्रसाद अधिकारी लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको अवसरमा भीरकोट नगरपालिका सात नम्बर वडा कार्यालय, स्याङ्जाको आयोजनामा कार्यक्रम भएका हाे।
विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा भीरकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छायाराम खनाल, युवा समाजसेवी व्यक्तित्व यामप्रसाद अधिकारी (लक्ष्मण) को पनि उपस्थिति रहेको थियाे।
समालाेचक मनिषा कोइराला, शम्भु अर्याल र मिलन समीरले मुक्तककार र मुक्तकसंग्रहबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए।
युवा शैक्षिक व्यक्तित्व अमृत अर्यालले "सिर्जनशील सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीको भूमिका" को सन्दर्भमा महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गरेका थिए।
२०५९ भाद्र २१ गते हालको भीरकोट नगरपालिका- ७, स्याङ्जामा जन्मिएका मुक्तककार पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक (व्यवस्थापन) अध्ययनरत छन्।
डाँफे अनलाइनको सञ्चालक रहेका मुनाल डाँफे डिजिटेक प्रालि, पोखराका प्रमुख हुन्। फोर.जी. इन्जिनियरिङ प्रालि काठमाडौँको व्यवस्थापकको रूपमा कार्यरत रहेर उनी सिर्जना कर्ममा क्रियाशील छन्।
गोदारको मुनाल (बतासे प्रेम) मुक्तकसङ्ग्रह पहिलो कृति हो। मुक्तक कृति नेपाली लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो। साहित्यकार मिलन समीरले सम्पादन गरेको मुनाल (बतासे प्रेम) मा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ८३ चोटिला मुक्तक सङ्गृहीत छन्। विषय सुहाउँदा रेखाचित्र (स्केच) ले संग्रह निकै सुन्दर बनेकाे छ।
सानै उमेरदेखि नै साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने मुनालका मुक्तक रचना स्तरीय छन्।
कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सहजीकरण सन्जु दोरङ्गा अर्यालले गरेकी थिइन्।
कार्यक्रममा व्यवसायी नुवादत्त अर्याल, लेखबहादुर केसी किरण, युवा समाजसेवी व्यक्तित्व यामप्रसाद अधिकारी (लक्ष्मण), भीरकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छायाराम खनालले महत्त्वपूर्ण शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
वक्ताहरूले भीरकोट साहित्यमय हुँदै गरेको सन्दर्भको उठान गर्दै त्यसको पछिल्लो उपलब्धिको रूपमा मुनाल (बतासे प्रेम) मुक्तकसङ्ग्रह प्रकाशित भएकोमा खुशी व्यक्त गरेका थिए। वक्ताहरूले साहित्यले सिर्जनशील निरन्तरताको अपेक्षा गर्ने भएकाले स्रष्टाहरूको ध्यान सो सन्दर्भमा केन्द्रित हुनुपर्छ भन्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्याङ्जाली सशक्त स्रष्टाहरु वसन्त खनाल, दिलीप तिवारी, खगेन्द्रजंग थापा, डिल्लीराम भण्डारी, अमित सुनार, सुदीक्षा सुनार, सक्षम रोका, उषा सुनार, इशाना रोका, सरगम थापा, गुरुप्रसाद ढकाल, चण्डिकाप्रसाद भट्टराई, हरिप्रसाद पङ्गेनी, बबिन पाठक, लीला रेग्मी, लेखनाथ काफ्ले, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनीले आफ्ना रचना प्रस्तुत गरेका थिए।
समारोहमा आयोजकको तर्फबाट प्रमुख आमन्त्रित व्यक्तित्व, विशिष्ट आमन्त्रित व्यक्तित्व, वक्तात्रय र अतिथि स्रष्टाहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।








१३ बैशाख , २,०८३