नोटिफाई नेपालLoading...



कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ। प्रदेशभर परीक्षामा सहभागी ३२ हजार ३ सय ३६ विद्यार्थीमध्ये ५९.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार १९ हजार ९५ विद्यार्थी उत्तीर्ण हुँदा १३ हजार २ सय ४१ विद्यार्थी ननग्रेडेड भएका छन्।
गत वर्ष कर्णालीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा यो प्रतिशत ७१ पुगेको थियो। यस वर्षको नतिजा गत वर्षको तुलनामा करिब १०.४ प्रतिशतले घटेको देखिएको छ।
निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार यस वर्ष सबैभन्दा बढी मुगुमा ७५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। रुकुम पश्चिममा ७९.३४, कालिकोटमा ७३.१३, सल्यानमा ६८.५२, जुम्लामा ६८.१७, सुर्खेतमा ५८.११, हुम्लामा ४९.३७, डोल्पामा ४६.६९ र जाजरकोटमा ४५.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष कर्णालीका सामुदायिक विद्यालयबाट ३६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। सुर्खेतमा सबैभन्दा बढी १८ जना, सल्यानमा ६, दैलेखमा २ र कालिकोटमा १ जनाले ४ जीपीए ल्याएका छन्।
जिल्लागत विवरणअनुसार जुम्लामा २ हजार १ सय ३३ मध्ये १ हजार ४ सय ५४, हुम्लामा ९ सय ५० मध्ये ४ सय ६९, मुगुमा १ हजार ३ सय ९४ मध्ये १ हजार ५८ र रुकुम पश्चिममा ३ हजार ७ सय ८० मध्ये २ हजार ९ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, दैलेखमा ४ हजार ३ सय ६ मध्ये १ हजार ३ सय ७० र सुर्खेतमा ७ हजार १ सय ८८ मध्ये ४ हजार १ सय ८३ जना उत्तीर्ण भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत नारायण पौडेलका अनुसार विषयगत शिक्षकको अभाव, विद्यार्थीको अनियमित उपस्थिति, चाडपर्व, निर्वाचन तथा जेनजी आन्दोलनका कारण पढाइ प्रभावित हुनु र पाठ्यपुस्तक समयमै नपुग्नु नतिजा खस्किनुका मुख्य कारण हुन्।
उनले कर्णालीमा माध्यमिक तहमा करिब ५८ प्रतिशत विषयगत शिक्षक अभाव रहेको उल्लेख गर्दै अंग्रेजी, गणित र विज्ञान विषयमा सबैभन्दा धेरै विद्यार्थी ननग्रेडेड भएको बताए। ‘शैक्षिक पूर्वाधार र लगानी बढे पनि शिक्षण–सिकाइको गुणस्तर कमजोर बन्दै गएको छ, त्यसको असर प्रत्यक्ष रूपमा एसईई नतिजामा देखिएको हो,’ पौडेलले भने।








१ जेठ , २,०८३